लागु औषध कारोबारी पक्राउ



बर्दिया ।

प्रहरीले बर्दियामा एक लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखा र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट संयुक्त रुपमा खटिएको टोलीले लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मधुबन नगरपालिका वडा नम्बर ९ चोक नम्बर १२ सिर्जनशिल टोलका ३६ वर्षीय कमल शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार शर्माको साथबाट प्रहरीले १० ग्राम ४ सय २० मिलिग्राम लागु औषध ब्राउनसुगर समेत बरामद गरेको थियो ।

‘केही मानिसहरुले लागु औषध ब्राउन सुगर खरीद बिक्री तथा कारोबार गरीरहेको छन् भन्ने सुचनाको आधारमा हाम्रो टोली पुगेको थियो’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘सोही क्रममा चेकजाँच गर्दा शर्माको साथबाट बिक्री गर्ने अभिप्रायले पुरिया बनाई लुकाई छिपाई राखेको लागु औषध ब्राउन सुगर समेत बरामद भएको थियो ।’

पक्राउ परेका शर्मा बर्दियामा लागु औषध ब्राउन सुगरका कारोबारी समेत रहेको अनुसन्धानबाट खुलेको उनले बताए । ‘हामीले ब्राउन सुगरका कारोबारीलाई समेत नियन्त्रणमा लिन सफल भएका छौं’ प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘यस क्षेत्रका लागु औषध खानेहरुलाई ब्राउन सुगर पु¥याउँने गरेको देखिन्छ ।’ पक्राउ परेका शर्मालाई लागु औषध मुद्दामा आवश्यक अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २१ गते सोमबार