नेपालगञ्ज ।
बाँके नेपालगञ्जस्थित भेरी अस्पताललाई विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले कोभिड– १९ महामारीको तेस्रो लहरको पूर्वतयारीको लागि अस्पताललाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको हो ।
शुक्रवार एक कार्यक्रमका बीच रेडक्रसले भेरी अस्पताललाई विभिन्न स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको थियो । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले अस्पतालका मेडिकल सुपरिटेन्ट डा. प्रकाश थापालाई संयुक्तरुपमा हस्तान्तरण सामाग्री हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामाग्रीहरुमा स्वाचलित सेनिटाइजर मेसिन २ थान, पीपीई ३ सय ५५ सेट र सेनिटाइजर ५ लिटरको १ सय १३ जार रहेका छन् । ती स्वास्थ्य सामाग्रीको मूल्य ६ लाख ९४ हजार ३ सय ७५ रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले जनाएको छ ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी गेलालले जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने भावनाबाट देश विदेशमा मानवीय सेवा गर्दै आएको स्मरण गर्दै बाँके रेडक्रसको योगदान उल्लेखनीय रहेको दाबी गरेका थिए ।
अस्पतालका मेसु डा. थापाले कोभिडमा खटिने स्वास्थ्यकर्मीका लागि नेपाल रेडक्रसले पटक–पटक सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखिएको बताए ।









प्रतिक्रिया दिनुहोस्