कर्णालीमा कोरोना कहर, बिहीवार शून्य मृत्युदर



सुर्खेत ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीवार कर्णालीमा कसैले पनि ज्यान गुमाएनन् । दैनिक कुनै न कुनै कोरोनाका बिरामीले ज्यान गुमाउने गरेपनि पछिल्लो समय कर्णालीमा मृत्यु दरमा कमी आएको हो ।

बुधबार मात्र कोरोनाका कारण प्रदेशमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ३२९ पुगेको बताइएको छ । यस्तै बुधबार र बिहीवार प्रदेशमा संक्रमितको संख्या भने पुनः बढेको छ । असार पहिलो सातादेखि दैनिक कोरोना संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढेको थियो ।

बुधबार जम्मा ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएका थिए भने ७८ जना संक्रमित थपिएका थिए । यस्तै बिहीवार ९३ जना डिस्चार्ज भएका थिए भने १२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । ७५ जनामा गरिएको पीसिआर परीक्षणबाट ४६ र २७४ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणबाट ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

बिहीवार संक्रमित हुनेमध्ये कालिकोटमा सबैभन्दा धेरै २७ जना रहेका छन् । यस्तै सुर्खेतमा २१, रुकुम पश्चिममा १९, दैलेखमा १६, जुम्ला र सल्यानमा ११÷११, मुगुमा ८, हुम्लामा ५, जाजरकोटमा १ र डोल्पामा पनि १ जनामा रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या १ हजार १६९ रहेको निर्देशनालयले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रबार