कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकाबाट प्रहरीले दुर्लभ पाटेबाघको छालासहित दुई पुरुषलाई पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका, ४ तीलकपुरबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले दुई थान पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको हो ।
दुवै जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलामा पाटेबाघको छाला फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले जानकारी दिए ।
‘दुर्लभ वन्यजन्तु पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने विशेष सूचना हामीलाई प्राप्त भएको थियो’ उनले भने, ‘सोही सूचनाको आधारमा शंका लागेर दुवै जनामाथि चेकजाँच गर्दा पाटेबाघको छाला बरामद भएको हो ।’
पाटेबाघको छालासहित पक्राउ पर्नेमा मेललेख गाउँपालिका वडा नम्बर, ३ दर्पा दैलेखका २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका वडा नम्बर ५ दैलेखका ३५ वर्षीय नन्दु बुढा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर प्रहरीले बरामद भएका छालासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको थियो । सबैलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपाने जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्