ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले दुई थान पाटेबाघको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीवार दिउँसो कोहलपुर प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर, ४ को तीलकपुरबाट पाटेबाघको छालासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
दुर्लभ वन्यजन्तु पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले छालासहित दुई जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।
पक्राउ पर्नेमा अछाम मेललेख गाउँपालिका वडा नम्बर ३ दर्पाका २७ वर्षीय डम्बर बुढा र रामारोशन गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।
‘दुवै जनाले बोकेका झोला खानतलासी गर्दा पाटेबाघको छाला बरामद भएको हो’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘उनीहरुले बोकेको झोलाबाट दुई थान पाटेबाघको छाला बरामद भएको थियो ।’
यसबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्