16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

लुम्बिनी प्रदेशमा ४७ प्रतिशत रोपाइँ सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १७, २०७८  

कोहलपुर  लुम्बिनी प्रदेशमा हालसम्म ४७.७ प्रतिशत रोपाइँ सम्पन्न भएके छ । लुम्बिनी प्रदेशमा ३ लाख ३४ हजार ३.५ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । असार दोस्रोसातासम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको हो । गत वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत बढी रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म सबै भन्दा बढी रोल्पा जिल्लामा रोपाइँ भएको छ ।

निर्देशनालयका बाली विकास अधिकृत दिनबन्धु पौडेलले रोल्पामा अहिलेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको बताइन् । उनले सबै भन्दा कम गुल्मी जिल्लामा जम्मा ७.७ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिइन् । यस्तै अहिलेसम्म बाँकेमा २० प्रतिशत, बर्दियामा ६३ प्रतिशत र दाङमा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ ।

भने रुपन्देहीमा ५५ प्रतिशत, नवलपरासी पश्चिममा ६० प्रतिशत, कपिलवस्तुमा २४.९ प्रतिशत, रुकुम पुर्वमा ६३ प्रतिशत, प्युठानमा ८० प्रतिशत रोपाइँ भएको पौडेलेको भनाइ छ । उनका अनुसार पाल्पामा ३०.७ प्रतिशत र अर्घाखाँचीमा ५७.८ प्रतिशत धान खेतमा रोपाइँ भइसकेको छ । गत वर्ष लुम्बिनीमा ९४.८४ प्रतिशत धान खेतमा रोपाइँ भएको थियो । त्यतिबेला ३ लाख १७ हजार ४४५ हेक्टर जमिनमा धान रोपाइँ भएको तथ्यांक छ ।

अधिकृत पौडेलले १३ लाख २५ हजार ४ सय ६४.८९ मेट्रिक टन धान उत्पादन भएको बताए । लुम्बिनी प्रदेशमा ६ लाख ८६ हजार ७०४ हेक्टर खेतीयोग्य जमिन छ । यहाँ कृषि क्षेत्रबाट हुने कूल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको छ । देशभर धान उत्पादनको दृष्टिले लुम्बिनी प्रदेश पहिलो नम्बरमा रहेको छ ।

प्रकाशित मितिः बिहिबार, असार १७, २०७८     8:18:10 AM  |