कोहलपुर कोहलपुर नगरपालिकामा भ्रष्टचार र अनियमितता बढेको भन्दै नेपाली काँग्रेस कोहलपुर कमिटिले गरेको तालाबन्दी खुलेको छ । मंगलबार सर्वपक्षीय बैठकपछि नगरपालिका आर्थिक दुरुपयोग र अनियमिमता भएको भन्दै असार १३ गते लगाइएको तालाबन्दी खुलेको हो । सो सम्बन्धमा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेको थियो ।
सो बैठकपछि विभिन्न ९ बुँदे निर्णय समेत भएको नेपाली काँग्रेस कोहलपुरका सचिव भुमबहादुर भण्डारीले जानकारी दिए । उक्त निर्णयहरुमा आन्तरिक प्रशासनिक सुशासन र जवाफदेहिता पूर्ण रुपमा कायम गर्ने, नगरपालिकाबाट तयार गरिने विस्तृत परियोजना प्रतिवेदन र कोटेशनबाट गरिने विकास, निर्माणका कामलाई व्यवस्थित गरिने बताइएको छ ।
यस्तै स्थानीय सरकार संचालनका कानुनी तथा नीतिगत व्यवस्था बमोजिम सामाजिक लेखा परिक्षण सार्वजनिक सुनुवाई लगायत सुशासन कायम गर्ने, आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा समावेश भए बमोजिम रझेना र शम्शेरगन्ज स्वास्थ्य चौकीलाई ल्याब सहित स्तरोन्नती र नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै कोभिड–१९, अन्य महामारीजन्य रोग नगरबासीलाई सुरक्षित राख्न प्रयाप्त बजेट व्यवस्थापन गर्ने निर्णय भएको सचिव भण्डारीको भनाइ छ ।
यसैगरि नगर तथा वडास्तरबाट गरिने कामहरुमा सार्वजनिक खरिद् ऐन,नियमावली, र प्रचलित आर्थिक कार्यविधिको पूर्ण रुपमा परिचालन गर्ने, राजजीतिक विषयमा सहमतिका साग अघि बढ्ने, नगरपालिकाको परिसरभित्र अनावश्यक रुपमा प्रवेश गरि हुलहुज्जत नगर्ने र कर्मचारीहरुलाई भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउने तथा नगरपालिकालाई राख्नु पर्ने माग, सल्लाह र सुझाव भएमा सबै राजनीतिक दलको संयुक्त सहभागितामा पेश गर्ने निर्णय भएको छ ।









प्रतिक्रिया दिनुहोस्