दाङ ।
दाङका विभिन्न स्थानीय तहहरुले धान रोपाँई गर्ने मेशिन भित्र्याएका छन् । पहिलोपटक जिल्लामा ल्याइएका मेशिनको माध्यमबाट धान रोप्दा काम छिटो, कम खर्चिलो र सजिलो भएको हुने गरेको छ । ‘मेरो १५ कठ्ठा क्षेत्रफलमा मेसिनले धान रोप्न २ घन्टा पनि लागेन’ राजपुरका किसान मोहन खनालले भने, ‘मानिसले रोपेको भए ८÷१० जनालाई बिहानदेखि बेलुकासम्म लाग्ने निश्चित थियो ।’
धान रोप्ने मेसिनका लागि ट्रेमा धानको ब्याड राख्नुपर्ने हुँदा ब्याड काड्न (उखेल्न) छुट्टै मानिसको समेत आवश्यकता नपर्ने उनले बताए । ‘यो मेरो पहिलो अनुभव थियो, त्यसैले थोरै ट्रेमा ब्याड रोखेको थिएँ’ खनालले भने, ‘मेसिनले त्यो ट्रेको धानको ब्याड आफैं गजबले तानेर लाइनमा रोप्दो रहेछ ।’ जिल्लामा पहिलो पटक धान रोप्ने मेसिन भित्र्याएपछि त्यसबाट धान कसरी रोप्ने ? भनेर स्थानीयलाई अभ्यास गराउन कृषि ज्ञान केन्द्रले आफ्ना प्राविधिक पठाएर जिल्लामा पहिलो अभ्यास गराएको थियो ।
‘मेसिनले धान रोप्दा मान्छे पनि थोरै लाग्ने र खर्च पनि कम हुने मैले देखें,’ खनालले भने, ‘यसैगरी कृषिमा प्रविधिको प्रयोग जताततै हुन सके साँच्चै चमात्कारै हुन्छ होला ।’ राजपुरकोे सूर्योदय सहकारी, गढवाको निलकमल महिला समूह र लमहीको हरित क्रान्ति कृषि सहकारी संस्थालाई धान रोप्ने मेसिन वितरण गरिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी रूद्रमणि पौडेलले जानकारी दिए । सहकारी, समूह वा फारम दर्ता गरेका किसानको माग फारमका आधारमा धानबाली ब्लग कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदामा धान रोप्ने मेसिन केन्द्रले पहिलो पटक जिल्लमा भित्र्याएको थियो ।
संघीय सशर्त अर्थात् सरकारबाट उपलब्ध प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत २ करोड ४४ लाख बजेट जिल्लाका दश वटै स्थानीय तहलाई एक÷एक वटा मेसिन उपलब्ध गराउन भनी केन्द्रलाई आएको भए पनि पहिलो पटक जिल्लाका दुई सहकारी र एक कृषि समूहलाई प्रदान गर्न सम्भव भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पौडेलले बताए ।
उनका अनुसार केन्द्रमा रकम आएपछि जिल्लाका सबै स्थानीय तहहरूलाई बालीवस्तु छनोटका लागि समय दिएर पत्राचार गरिएको थियो । किसानले छनोट गरेर पठाएको बालीवस्तुलाई राखेर गत माघ महिनातिर ज्ञान केन्द्रले एक महिने सूचना जारी गरेको थियो । तर, त्यतिखेर ६ वटा स्थानीय तहले मात्रै माग फारमको निवेदन दिएका थिए ।
फेरि कृषि ज्ञान केन्द्रले १५ दिने म्यादसहित दोस्रो पटक सूचना जारी गरेपछि थप दुइटा स्थानीय तहले निवदेन हालेको सूचना अधिकारी पौडेलले बताए । तर, तीमध्ये शान्तिनगर, दंगिशरण गाउँपालिकाले मकै बालीको ब्लकका रूपमा निवेदन दिएका थिए । ती ठाउँमा दुई वर्ष पहिले नै केन्द्रले मकै रोप्ने, गोड्नेजस्ता उपकरण प्रदान गरिसकेको थियो ।
थप उपकरण यसपटक पनि प्रदान गरिएको पौडेलले बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा असार मंगलवार देउखुरीको लमहीमा डेमोको रूपमा मेसिनले धान रोपेर दिवस मनाइएको थियो । त्यहाँ ज्ञान केन्द्रका केही कर्मचारी, स्थानीय किसानको उपस्थितिमा डेमोको रूपमा मेसिनले धान रोपेर धान दिवस मनाएका थिए ।
गत वर्ष नै धान रोप्ने मेसिन भित्र्याउने कोसिस गरेको भए पनि त्यो सम्भव नभए पनि यो वर्ष पहिलो पटक दाङमा तीन वटा धान रोप्ने मेसिन भित्र्याउन पाउँदा खुसी लागेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पौडेलेले जानकारी दिए । चीनबाट आएको धान रोप्ने मेसिनलाई लगभग साढे ५ देखि ६ लाख बराबर मूल्य पर्न गएको र इण्डियाको मेसिनलाई साढे ७ लाख जति पर्न गएको उनले दाबी गरे । दाङको देउखुरी क्षेत्रको गढवा, राजपुर र लमहीमा केन्द्रले एक÷एक वटा धानबालीको लागि ब्लग सञ्चालन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्