कोहलपुर ।
बाँकेमा आजदेखि सार्वजनिक सवारीका साधनहरु सञ्चालनमा आउने भएका छन् । कोरोनाको दोस्रो लहर रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञापछि जिल्लामा पहिलोपटक सार्वजनिक सवारी सञ्चालनमा आउन लागेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार एक आदेश जारी गरेर आजदेखि आंशिक रुपमा यात्रुबहाक सार्वजनिक सवारीका साधनहरु सञ्चालन गर्न पाइने बताएको थियो ।
जिल्लाभित्र जोर–विजोर प्रणाली लागू गरेर सार्वजनिक सवारी साधनहरु सञ्चालन गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । ‘मंगलवारदेखि जिल्लामा आंशिक रुपमा निषेधाज्ञापछि सार्वजनिक सवारी सञ्चालन हुनेछन्’ उनले भने, ‘पहिलो चरणमा जोर–विजोर प्रणाली लागू गरेर सवारी साधन चलाउनुपर्नेछ ।’ सार्वजनिक सवारी साधनमा मात्र नभएर निजी सवारी साधनमा समेत जोर–विजोर प्रणाली लागू हुने प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।
सोही अनुसार आज बाँकेमा बिजोर सवारी साधनहरु मात्र सञ्चालनमा हुन पाउँनेछन् । नयाँ नियम अनुसार जोर गते जोर नम्बर भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर भएका सवारी साधनमात्र सञ्चालन हुने जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए । ‘सवारी साधन सञ्चालनको निर्णय भएसँगै अब सडकमा सवारी चाप समेत बढ्नेछ’ उनले भने, ‘हामीले सोही अनुसार सवारी व्यवस्थापनको लागि योजना बनाइसकेका छौं ।’
थपियो निषेधाज्ञा
बैशाख १३ गतेदेखि बाँके जिल्लामा जारी निषेधाज्ञाको अवधि फेरी थप गरिएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमवार राती १२ बजेपछि सकिदै थियो । सोमवार नै बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले एक आदेश जारी गर्दै निषेधाज्ञा थप एक साता बढाएका हुन् । विगतको भन्दा केही खुकुलो बनाएर निषेधाज्ञाको अवधि थपिएको छ ।
‘हामीले क्रमश रुपमा निषेधाज्ञालाई खुकुलो बनाइराखेका छौं’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘यसपटक पनि हामीले केही खुकुलो बनाएर निषेधाज्ञा थप गरेको हौं ।’ जिल्लामा कोरोना संक्रमणदर कम भएपनि जोखिम कायमै रहेकोले एक साता निषेधाज्ञा बढाइएको उनले दाबी गरे । बाँकेमा अब असार २१ गते राती १२ बजेसम्म निषेधाज्ञा यथावत् रहनेछ ।
उद्योग व्यवसाय खोल्ने हकमा भने यसअघिकै निर्णयलाई यथावत् राखिएको छ । दिउँसो ४ बजेसम्म मात्र दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु खोल्न पाइनेछ । निषेधाज्ञाको समयमा वैकल्पिक माध्यमबाट हुने शिक्षण तथा सिकाई, बैंक तथा वित्तीय संस्था, कृषि, उद्योग, कलकारखाना, निर्माण कार्य र रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा पहिलेकै अनुसार हुनेछन् ।
त्यसैगरी विवाह , ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी हुन पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सञ्चालन गर्न पाउने पेशा व्यवसाय, कार्यमा सम्बद्ध व्यक्तिहरुको अनिवार्य रुपमा परिचय पत्र हुनुपर्ने आदेशमा उल्लेख गरिएको छ । तर मास्क, भौतिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना हुने व्यवस्था मिलाउनुपर्ने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।
के–के खोल्न पाइनेछैन
निषेधाज्ञालाई केही खुकुलो बनाइए पनि केही क्षेत्रहरुमा भने अझै रोक नै लगाइएको छ । शैक्षिक, मनोरञ्जन लगायतका क्षेत्रहरु तत्काल सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी गेलालले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
सबै खाले शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सवार, स्पा, सेलुन तथा ब्युटी पार्लर सञ्चालन गर्न पाइनेछैन । त्यसैगरी पुजारीबाट हुने नित्य पूजा बाहेकका सबै प्रकारका धार्मिक तथा साँस्कृतिक गतिविधिहरु रोक लगाइएको छ ।
निषेधाज्ञाको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम व्यक्तिले उल्लघंन गरो एक लाख रुपैयाँसम्म र संस्थाले गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने आदेशमा चेतावनी दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्