सवारी दुर्घटनामा दुईको मृत्यु



कोहलपुर ।

बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शनिवार दिउँसो कोहलपुर सुर्खेत सडक खण्डको चिसापानीका भएका दुई सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको हो । सवारी दुर्घटनामा परेर मृत्यु हुने दुवैजना मोटरसाइकलमा सवारहरु रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

करिव आधा घण्टाको फरकमा दुई सवारी दुर्घटना भएका थिए । दिउँसो तीन बजेतिर भएको मोटरसाइकल दुर्घटनामा परेर बाँके खजुरा गाउँपालिका घर भएका ३२ वर्षीय भिमसेन थापाको मृत्यु भएको हो । उनले चलाएको भे १० प ६९२९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर चिसापानीको हात्तीसार मोडमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । उक्त मोटरसाइकल कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको थियो ।

मोटरसाइकल सडकको बाँया साइटमा रहेको डिभाइडरमा ठोक्किदाँ गम्भीर घाइते भएका प्रहरीसमेत रहेका थापाको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका इन्चार्ज ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले बताए । तीव्र गतीका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बाँके ट्राफिक प्रहरीले जनाएको छ । यस्तै शनिवार दिउँसो नै चिसापानीको गाभर चोकमा भएको सवारी दुर्घटनामा परेर अर्का एक जनाको मृत्यु भएको थियो ।

कोहलपुरबाट चिसापानीतर्फ गइरहेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको कन्टेनर गाभर चोकमा ठोक्किदा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा रा ४ प ७१२१ नम्बरको मोटरसाइकल चालक कोहलपुर नगरपालिका, ८ का ४६ वर्षीय नारायण चालिसे रहेका छन् । उनी सवार मोटरसाइकललाई ना ८ ख ६९०३ नम्बरको कन्टेनर ठक्कर दिएको थियो ।

गम्भीर घाइते चालिसेको समेत मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ । ठक्कर दिने कन्टेनर र चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक चालिसे सूर्योदय माध्यमिक विद्यालय चिसापानीमा कार्यरत रहेका थिए । दुवै जनाको शवलाई पोस्टमार्टम पश्चात परिवारलाई बुझाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १४ गते सोमबार