सक्रिय संक्रमित अण्डर पचास



कोहलपुर ।

कोरोना भाइरस (कोभिड–१९) दोस्रो लहर फैलिएयता पछिल्लो २४ घण्टामा बाँकेमा नयाँ संक्रमणदर शून्य भएको छ । जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणमा पहिलोपटक दोस्रो लहर फैलिएयता बाँकेमा नयाँ संक्रमणदर शून्य भएको हो ।

दुई प्रयोगशालामा गरिएको ६५ नमूना परीक्षण ४ जनामा संक्रमण देखिएपनि ती सबै बाहिरी जिल्लाको रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको १६ नमूनाको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको थियो । बागेश्वरीको ल्यावमा गरिएको ४९ नमूना परीक्षणमा ४ जनामा कोरोना देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

‘दोस्रो लहर सुरु भएयता पहिलोपटक संक्रमणदर शून्य देखियो’ उनले भने, ‘बाहिरी जिल्लाको संक्रमण पुष्टि हुने संख्या समेत पहिलोपटक कम हो । विस्तारै जोखिम घट्दै गइरहेको देखिन्छ ।’ कोरोनाको पहिलो र दोस्रो लहरमा गरेर बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय २६ पुगेको छ । तीमध्ये ७ हजार ४ सय २२ महिला र १० हजार ४ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । पछिल्लो २४ घण्टामा आइतवार भने नेपालगञ्जस्थित भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थिएन् ।

आइतवार २ महिला र २ पुरुष गरेर बाहिरी जिल्लाका ४ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीका अनुसार ३ महिला र २ पुरुष थप ५ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा अहिलेसम्म कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ६९ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

कोरोना जितेर घर फकिनेहरुमा ७ हजार २ सय ७१ महिला र ९ हजार ७ सय ९८ पुरुष रहेका छन् । अब बाँकेमा सक्रिय संक्रमितको संख्या अण्डर पचासमा झरेको छ । २२ महिला र २५ पुरुष गरेर ४७ जना मात्र सक्रिय संक्रमित रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

बाँकेमा बाहिरी जिल्लाका ३० सक्रिय संक्रमित रहेका छन् । १२ महिला र २३ पुरुष गरेर ३५ जनाको अस्पतालमा उपचार भइरहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । २५ महिला र १७ पुरुष गरेर ४२ जना होम आइसोलेसनमा रहेका
थिए । पछिल्लो २४ घण्टामा समेत बाँकेमा मृत्युदर शून्य रहेको थियो । जिल्लाका अस्पतालमा उपचाररत बाहिरी जिल्लाका २ संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

केही दिनयता बाँकेका कोरोना संक्रमितको मृत्यु नभएको तथ्यांकले देखाएको छ । बाँकेका १ सय २९ महिला र १ सय ८१ पुरुष गरेर ३ सय १० जनाको अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । जिल्लामा बाहिरी जिल्लाबाट थप उपचारका लागि रिफर भएर आएका ३ सय ५८ जनाको मृत्यु भएको थियो । तीमध्ये १ सय ११ महिला र २ सय ४७ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार १४ गते सोमबार