कोहलपुर ।
बर्दियामा मानव वस्ती नजिक आइरहने पोथी पाटेबाघलाई नियन्त्रणमा लिएर जंगलमा छाडिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको टोलीले सो पाटेबाघलाई गेरुवा गाउँपालिका–४ स्थित एक सामुदायिक वनबाट नियन्त्रणमा लिएको हो । बिहीवार नियन्त्रणमा लिइएको बाघलाई सोही दिन गुठी क्षेत्रको घनाजंगलमा छाडिएको हो ।
सो बाघले मानव वस्तीनजिक आएर घरपालुवा जनावर खाने गरेको बर्दिया निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशिम थापाले बताए । ‘मानवीय क्षति नहोस् भनेर हामीले निगरानी गरिरहेका थियौं, समस्याग्रास्त बाघ त होइन,’ उनले भने, ‘तर नियमित मानव वस्ती नजिक आउन थालेपछि नियन्त्रणमा लिएर गुठी क्षेत्रको जंगलमा छाडेका हौं ।’ योसँगै चालु आर्थिक वर्षमा मात्रै बर्दिया निकुञ्जबाट पाँचवटा पाटेबाघ नियन्त्रणमा लिइसकिएको छ । दुईवटा निकुञ्जको कार्यालय र रम्मापुरस्थित खोरमा राखिएको बताइएको छ ।
त्यस्तै एउटा बाघ सदर चिडियाखाना जाउलाखेल पठाइएको थियो । एउटा बाघ बाँकेमा राखिएको भए पनि खोरको डण्डी बंग्याएर भागेको थियो । सूचना अधिकारी थापाका अनुसार राजमार्गमा हिँडिरहने अर्को एउटा बाघलाई नियन्त्रणमा लिएर रेडियो कोलार जडान गरिएको छ । ‘दुई महिना जति भयो, निगरानी गरिरहेका छौं,’ उनले भने, ‘मुभमेन्ट एकदमै राम्रो छ, उसको व्यवहार पनि राम्रो छ ।’
खासगरी राजमार्गमा चिसापानी खण्डमा दिउँसै पाटेबाघ देखिने गरेको थियो । दिउँसै राजमार्गमा पाटेबाघ देखिन थालेपछि आवतजावत गर्न जोखिम भएपछि केही समयअघिबाट नै सर्तकता अपनाउन थालेको हो । सोही क्रममा पाटेबाघलाई नियन्त्रणमा लिएर रेडियो कोलार जडान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्