कोहलपुर ।
बाँकेमा कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्यामा ५२ जनामा झरेको छ । पछिल्लो समययता जिल्लामा कोरोना संक्रमणदर घटेसँगै सक्रिय संक्रमितको संख्या समेत कम भएको हो । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकलन पर्सन तेज ओलीले निको हुने दर बढिरहेकाले सक्रिय संक्रमित कम हुदै गएको बताए ।
‘नयाँ थपिने भन्दा कोरोना जित्नेहरु बढिरहेकोले सक्रिय संक्रमित कम भएका हुन्’ उनले भने, ‘यही दरमा संक्रमणदर कम भएमा अझै सक्रिय संक्रमित कम हुन्छन् ।’ शनिवारसम्म बाँकेमा संक्रमितको संख्या २५ महिला र २७ पुरुष गरेर ५२ जनामात्रै रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । यो संख्या कोरोनाको दोस्रो भेरियण्ट फैलिएयताकै सबैभन्दा कम हो । बाँकेमा तिव्र रुपमा कोरोनाको दोस्रो भेरियण्ट फैलिरहेको बेला सक्रिय संक्रमित मात्रै ४ हजार ५ सय बढी पुगेका थिए ।
तर जेठको पहिलो सातादेखि नयाँ थपिने संख्या कम भएसँगै सक्रिय संक्रमितको संख्या क्रमश ओरालो लागेको थियो । जिल्लामा शनिवारसम्म बाहिरी जिल्लाका ३२ सक्रिय संक्रमित समेत रहेका थिए । सबै गरेर सक्रिय संक्रमितको संख्या ९२ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । तीमध्ये १३ महिला र २४ पुरुष गरेर ३७ अस्पतालमा उपचाररत रहेका थिए ।
होम आइसोलेसनमा रहेको संख्या ४७ जना रहेको थियो । यस्तै पछिल्लो २४ घण्टामा शनिवार ८ जना डिस्चार्ज भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५२ जनामा झरेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । ६ महिला र २ पुरुष गरेर ८ कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १७ हजार ६४ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
तीमध्ये कोरोना जित्नेहरुमा ७ हजार २ सय ६८ महिला र ९ हजार ७ सय ९६ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । थप १२ जना कोरोना जितेर घर फर्किदा शनिवार थप एक जनामात्रै संक्रमित थपिएका थिए । जिल्लामा दुई प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा मात्रै संक्रमण देखिएको थियो । ६१ नमूना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएकोमा बाँकेमा एक जनामात्रै रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका एक पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४ सय २६ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । तीमध्ये ७ हजार ४ सय २२ महिला र १० हजार ४ पुरुष रहेका थिए । शनिवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ४ महिला र २ पुरुष गरेर ६ मा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा समेत बाँकेका संक्रमितको मृत्युदर शून्य रहेको थियो ।
जिल्लाका अस्पतालमा उपचाररत बाहिरी जिल्लाका २ संक्रमितको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा १ सय २९ महिला र १ सय ८१ पुरुष गरेर ३ सय १० जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट थप उपचारका लागि रिफर भएर आएका ३ सय ५६ जनाको मृत्यु भएको थियो । तीमध्ये १ सय १० महिला र २ सय ४६ पुरुष रहेका छन् । जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर अहिलेसम्म बाँकेमा २ सय ३९ महिला र ४ सय २७ पुरुष गरेर ६ सय ६६ जनाको मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्