26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

जर्ज फ्लोइडका हत्यारालाई २० वर्षभन्दा लामो जेल सजाय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १२, २०७८  

जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका पूर्व प्रहरी अधिकारीमाथि २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँटी थिचेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए ।

न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरु लगाइएको थियो ।

अन्य तीन पूर्व प्रहरी अधिकारीहरुलाई पनि अलग–अलग रुपमा जर्ज फ्लाईडको मानव अधिकार हनन गरेको भन्दै मुद्दा चलाइएको थियो । फ्लोइडको परिवार र उनका समर्थकहरुले यो फैसलाको स्वागत गरेका छन् ।

फ्लोइडकी बहिनी बिग्रेट्ट फ्लोइडले भनिन्,‘ प्रहरी दमनका घटनालाई पनि अन्तत गम्भिर रुपमा लिइन्छ भनेर यो सजायले देखाएको छ । तर अझै लामो बाटो बाँकी नै छ ।’

सुनुवाईमा के भयो ?

सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए ।

‘किन ? तिमी के सोच्दै थियौं ? जब तिम्रो घुँडा मेरो दाईको घाँटीमा थियो, तब तिम्रो टाउकोमा के चलिरहेको थियो ?

फ्लोइडकी ७ वर्षिया छोरी जियन्नाको भिडियो रेकर्डिङ पनि अदालतमा पेश गरिएको थियो । जियन्नाले आफ्ना बाबुलाई निकै मिस गरिरहेको बताइन् । ‘म उनीबारे सधैं सोधिरहन्छु,’ उनले भनिन्,‘मेरो ड्याडीले सधैं मलाई दाँत माझ्न सहयोग गर्नुहुन्थ्यों ।’

न्यायाधिसले समुदाय र देशकै लागि यो प्रकरण पीडादायी भएको बताए । तर सबैभन्दा ठूलो पीडा फ्लोइडको परिवारले व्यहोर्नुपरेको उनले बताए ।

‘यो सजाय भावना वा सहानूभूतीमा आएर गरिएको होइन । तर, यही समय म यो स्विकार्न चाहन्छु कि सबै परिवारले दर्दनाक पीडा भोगेका छन्, विशेषगरी फ्लोइडको परिवारले,’ न्यायाधिस पिटर चाहिलले भने ।

प्रकाशित मितिः शनिबार, असार १२, २०७८     12:56:14 PM  |