कुल ११ वटा उपलब्धि र ३ वटा शीर्षकमा उल्लेख गरिएका चुनौतीमा ६ किमी सडक निर्माण गरेकोदेखि नगरपालिकामा सञ्चालन हुने विकास निर्माण लगायतका दीर्घकालीन महत्व राख्ने आयोजनामा जनप्रतिनिधिले साझा रुपमा स्वीकार नगर्ने र सानातिना कुरामा मतभेद गर्ने समस्या रहेको उल्लेख गरिएको छ ।
कोहलपुर,
बाँकेको कोहलपुर नगरपालिकाले सोमबार आर्थिक वर्ष २०७८-०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नवौँ नगर सभा मार्फत कोहलपुरका प्रमुख लूटबहादुर रावतद्धारा प्रस्तुत गरिएको नारैनाराले भरिपूर्ण महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । क्षेत्रगत रुपमा २० वटा शीर्षकमा नीति तथा कार्यक्रम आएको छ ।
त्यसभित्र केही विगतका कार्यक्रम दोहोरिएका छन् भने केही नयाँ कार्यक्रम समेत समेटिएका छन् । स्वास्थ्य, शिक्षा र कृषिलाई मूख्य प्राथमिकता दिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा भने चुनौती देखिन्छ । समग्रमा हेर्दा सन्तोषजक नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले चार वर्षको अवधीमा गरेका उपलब्धी र भोग्नु परेका चुनौती समेत समावेश गरिएको छ । नगरपालिकाले अहिलेसम्म कुल ११ वटा मूख्य उपलब्धी हासिल गरेको उल्लेख गरेको छ भने मूख्य ३ वटा चुनौती रहेको बताइएको छ ।
नगर प्रमुख लूटबहादुर रावतले कोभिड–१९ को समयमा सीमित स्रोत र जनशक्तिको उच्चतम परिचालन गर्दै संक्रमित नागरिकको खोज, उद्धार गरिएको छ । २५ बेडको अस्थायी अस्पताल र ५० बेडको आइसोलेसन,निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन र नगरबासीलाई बचाउन हर सम्भव प्रयास गरेको लगायत रहेका छन् ।
यस अवधीमा १२ वटा वडा कार्यालय, १२ आधारभूत स्वास्थ्य केन्द्र र १५ सामुदायिक विद्यालयहरुको भवन निर्माण गरिएको छ । यस्तै साक्षर नगरपालिका, पूर्णखोपयुक्त नगर र सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा भइ कार्यान्वयनमा रहेको छ । नगर सरकारलाई व्यवस्थित र कानुनी रुपमा सञ्चालन गर्न ९७ वटा ऐन, नियमावली कार्यविधि, मापदण्ड र निर्देशिका जारी गरिएको छ ।
यसैगरी नगर विकास कोषको ६० प्रतिशत ऋण अनुदान र नगरपालिकाको ४० प्रतिशत सह– लगानीमा पश्चिम नेपालकै नमूनाको रुपमा आधुनिक लामो दुरीको बसपार्क , आधुनिक भ्यू–टावर, १५ बेडको आधारभूत अस्पताल र २५ बेड क्षमताको बाल अस्पतालदेखि थारु तथा दलित संग्रहालय, कभर्ड हल तथा खेल मैदान, ६ किलोमिटर सडक निर्माण, एक वडा, एक कालोपत्रे कार्यक्रम अन्तर्गत सबै वडाका केन्द्रसम्म सडक विस्तार लगायतका योजनाहरुको शुरुवात र केही सम्पन्न हुने चरणमा रहेको नगर प्रमुख रावतको भनाइ छ ।
सार्वजनिक –निजी– साझेदारी अवधारणामा छाडा पशु चौपाया नियन्त्रण र फोहोरमैला प्रशोधन र व्यवस्थापन, कृषि उपजमा उत्पादन बृद्धि,नगरपालिकालाई सौन्दर्यकरण गर्न वृक्षरोपण, पुष्पवाटिका, हरित पार्क, डुबानको समस्या समाधानको लागि प्रयास गरिएको भन्दै उपलब्धीको रुपमा उल्लेख गरिएको हो ।
यस्तै कोहलपुर नगरपालिकाको कार्यालय संगठन तथा व्यवस्थापनको अध्ययन सर्वेक्षण गरी जनशक्ति व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह गरिरहेको छ । नगर प्रमुख रावतले प्रथम आवधिक योजना र मध्यम कालीन खर्च संरचना निर्माण, सार्वजनिक जग्गाको लागत संकलन र १६ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लागत संकलन, प्रविष्टि र जग्गा नाप नक्साको थालनीलाई पनि मूख्य मूख्य उपलब्धीको रुपमा उल्लेख गरेका हुन् ।
कोहलपुर नगरपालिका चार वर्षको अनुभव र सिकाइका आधारमा सार्वजनिक सेवा प्रवाह, योजना सञ्चालन तथा कोभिड– १९ को रोकथाम तथा नियन्त्रण र आर्थिक क्षेत्रमा भोग्नु परेका समस्याहरुलाई चुनौतीका रुपमा उल्लेख गरेको छ । नगर स्तरमा हुने विकास निर्माणका कार्यका लागि प्राविधिक लागत इस्टिमेट समय मै तयार नहुनु, उपभोक्ता समिति गठनमा विलम्भ, समयमा ठेक्का हुन नसक्नु, योजना निर्माण र कार्यन्वयनका लागि व्यवसायिक कार्य अनुभव र क्षमताका कमीका कारण विकास निर्माणमा समस्या भोग्नु परेको उल्लेख गरिएको छ ।
कोभिड–१९ को पहिलो र दोस्रो चरणका कारण मूख्य रुमपा आर्थिक गतिविधि ठप्प हुनु, स्वास्थ्य सेवामा चाप बढ्नु, पूँजीगत खर्च लागत र विकास बजेट खर्च हुन नसकेका कारण चुनौती खडा गरेको छ । कोरोनाका कारण राजस्व, आर्थिक शैक्षिक, बैंकिङ तथा अन्य क्षेत्रमा काम हुन नपाउँदा लक्ष्य अनुसार कार्यक्रम तथा आयोजनाहरुमा अपेक्षित उपलब्धी हासिल गर्न नसकेको बताइएको छ ।
यसैगरी सर्शत अनुदान, राजस्व बाँडफाँड अन्य निकायबाट प्राप्त हुने अनुदान तथा लागत साझेदारीका योजनाको बजेट समय मै प्राप्त नहुनु, प्रमुख प्रशासकीय अधिकृतको छोटो समयमा सरुवा हुनु, कर्मचारीको पेशागत मर्यादा र सुरक्षा अभावका कारण कार्य सम्पादनमा जटिलता सिर्जना भएको छ ।
विकास निर्माणमा आयोजना तथा कार्यक्रमहरुमा जनप्रतिनिधि बीच मत विभाजित हुनु, उनीहरुबीच योजना तथा कार्यक्रममा साझा स्वामित्व नहुनु र अनेकौँ नीतिगत तथा प्रशासनिक जटिलताहरु जस्ता समस्या भोग्नु परेको नगर प्रमुख रावतले बताएका छन् ।यस्ता समस्या समाधान गरी नगरपालिकाले लिएको नीति अनुरुप आगामी आर्थिक वर्षहरुमा सम्बोधन गर्दै जाने, दिगो प्रतिफल ल्याउने गरी काम गर्नको सबैको सकारात्मक भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्