9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बाँकेमा तीन संक्रमित थपिए, थप १२ जना कोरोना जितेर डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ९, २०७८  

कोहलपुर ।

पछिल्लो २४ घण्टामा बाँकेमा थप १२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । ५ महिला र ७ पुरुष गरेर थप १२ जना डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १७ हजार २६ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । तीमध्ये कोरोना जित्नेहरुमा ७ हजार २ सय ४६ महिला र ९ हजार ७ सय ८० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ जनाका संक्रमण देखिएको हो । १ सय ३४ नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएकोमा ३ जना बाँकेका रहेका थिए । अन्य ९ जना भने बाहिरी जिल्लाका संक्रमित रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा २ महिला र १ पुरुष गरेर ३ मा संक्रमण पुष्टि भएको थियो ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा बाँकेका कसैलाई पनि संक्रमण देखिएको थिएन् । योसँगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ११ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । तीमध्ये ७ हजार ४ सय १६ महिला र ९ हजार ९ सय ९५ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा कुनै पनि संक्रमितको मृत्यु भएको थिएन ।अहिलेसम्म १ सय २९ महिला र १ सय ८१ गरेर बाँकेका ३ सय १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचार लागि बाँके आएका ३ सय ५० संक्रमितको मृत्यु भएको छ । तीमध्ये १ सय ९ महिला र २ सय ४१ पुरुष रहेका छन् । बाँकेमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या १ सय ४७ रहेको थियो । तीमध्ये ४१ महिला र ३४ पुरुष गरेर बाँकेका ७५ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । बाँकेमा बाहिरी जिल्लाका ५२ संक्रमित रहेका छन् ।

प्रकाशित मितिः बुधबार, असार ९, २०७८     8:25:00 AM  |