नेपालगञ्ज ।
निषेधाज्ञामा पीडित उद्योगी÷व्यवसायीका लागि राहतको माग गर्दै बाँकेको नेपालगञ्जमा प्रदर्शन गरिएको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार साङ्केतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा पीडित भएका व्यवसायीहरुलाई राहतको माग राख्दै प्रदर्शन गरिएको थियो ।
निषेधाज्ञा चलिरहेको अवस्थामा सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यवहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । ‘निरन्तरको निषेधाज्ञाका कारण निजीक्षेत्र पलायन हुने अवस्था सिर्जना भएको छ’ उनले भने, ‘त्यसलाई उकास्ने कार्यमा सरकारले ध्यान दिनुपर्छ ।’
सोही अवसरमा बोल्दै संघका निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले व्यवसायीक क्षेत्रलाई थप क्रियाशिल बनाउनतिर सरकार लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग राखी सङ्घको भवन अगाडि प्ले–कार्डसहित साङ्केतिक दबाबमूलक कार्यक्रम गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । यस्तै कोहलपुर क्षेत्रका व्यवसायीहरुले समेत यस्तै माग राखेर केही दिनअघि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले कोहलपुर बजारमा प्रदर्शन गरेर सरकारको ध्यानकर्षण गराएका हुन् ।









प्रतिक्रिया दिनुहोस्