8 December 2021  |   बुधबार, मंसिर २२, २०७८

स्वास्थ्य र शिक्षा र कृषि क्षेत्र प्राथमिकतामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ८, २०७८  

आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रममा राप्तीसोनारी, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकालाई समेटी उप–महानगरपालिका बनाउन विस्तृत सम्भाव्यता अध्ययनको कार्य अघि बढाउने, ‘एक डाक्टर, एक नर्स’,‘एक विद्यालय–एक स्वास्थ्यकर्मी’ देखि र ‘जनतासँग जनप्रतिनिधि’,प्रतिक चिन्ह जारी गर्ने, बेरुजु शून्य बनाउने र गौरवका योजना सम्पन्न गर्ने जस्ता महत्वकांक्षी योजना समेटिएका छन् ।

कोहलपुर 

बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार नवौँ नगर सभा मार्फत सभाध्यक्ष तथा नगरप्रमुख लूटबहादुरले रावतले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख रावतद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ । यस्तै नगरपालिकाले शिक्षा र कृषि क्षेत्रलाई समेत प्राथमिकता दिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा अवलम्बन गर्ने क्षेत्रगत नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा कोभिड–१९ संक्रमण व्यवस्थापन सम्बन्धी नीति रहेको छ । कोभिड–१९ दोस्रो लहर तथा भावी दिनमा आउन सक्ने सम्भावित तेस्रो लहर लगायत अन्य महामारीको रोकथाम, नियन्त्रण, उपचार खोपको भरपर्दो व्यवस्था गरी सबै नगरबासीको जीवन रक्षा गरिने उल्लेख छ । यस्तै नगर प्रमुख रावतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पूर्वाधार, औषधी, स्वास्थ्य उपकरणहरु र जनशक्तिको प्रयाप्त मात्रामा व्यवस्थापन गर्दै लगिने बताए ।

यसैगरी कोभिड–१९ को संक्रमण र जोखिम नियन्त्रण गर्न संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी निःशुल्क परिक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, अस्थायी कोभिड अस्पताल सञ्चालन देखि टे«सिङ, जनशक्ति व्यवस्था, एम्बुलेन्स, शववाहन उपकरण लगायत औषधीको व्यवस्था गरिने रहेका छन् । कोभिड–१९ बाट मृत्यु भएका नगरवासीका आश्रित परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत सहयोग उपलब्ध गराउने रावतले बताए ।

र कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सफाईकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, शव वाहन चालक लगायतलाई प्रत्यक्ष रुपमा खटिने जनशक्तिलाई नेपाल सरकारले तोके बमोजिमको जोखिम भत्ता लगायतका सुविधा उपलब्ध गराइने र स्वास्थ्यकर्मीहरुलाई पूर्ण रुपमा सुरक्षाको व्यवस्था मिलाइने उल्लेख गरिएको हो ।

नीति तथा कार्यक्रमको दोस्रो प्राथमिकतामा परेको शिक्षा नीतिमा कुल १९ वटा योजना समेटिएको छ । उक्त नीति तथा कार्यक्रममा
शैक्षिक क्षेत्रलाई आवश्यकता अनुसार अघि बढ्दै, ‘शैक्षिक हब विकास–बृहत गुरुयोजना’ निर्माण गरिने, अनिवार्य र निःशुल्क आधारभूत शिक्षा नीतिलाई माध्यमिक तहसम्म क्रमशः निरन्तरता दिदैँ बाल विकास केन्द्र र कक्षा १ मा शतप्रतिशत विद्यार्थी भर्ना गरि ‘एक वडा, एक नमूना बालविकास केन्द्र’ भन्ने अभियान सञ्चालन गरिनेछ ।विद्यालय स्तरमा प्रतिभा पहिचान, जीवनोपयोगी शिक्षा , प्राविधिक क्षेत्र विद्यालयहरुको अवलोकन भ्रमण, सबै विद्यालयमा पानी सहित शौचालय, परिवर्तन गृह, प्राथमिक उपचार, विपद् व्यवस्थापन गरिने र साक्षर जनसंख्या वृद्धि गर्नको लागि वडा शिक्षा समितिलाई जिम्मेवार बनाइने उल्लेख गरिएको छ ।

यसैगरी नगर क्षेत्रका पाँच वटा विषयगत सिकाई केन्द्रहरुमा पेसागत विकास कार्यक्रम, कोहलपुर माध्यमिक विद्यालयलाई नगर÷ मेघा विद्यालय रुपमा स्वामित्व लिने कार्य प्रारम्भ गर्ने र अपांगता भएका विद्यार्थीहरुलाई आवश्यकताका आधारमा सहायक सामग्री निर्माण गर्ने, लेखाजोखा केन्द्रलाई संगठनात्मक रुपमा सुदृढीकरण गरिनेछ ।

यसैगरी महत्वकांक्षी योजनाका रुपमा ‘प्रविधि युक्त शिक्षकसँग मेयर’,‘विपन्न बालबालिकासँग उपमेयर’, ‘ एक डाक्टर, एक नर्स’, ‘सूचना तथा प्रविधिमा आधारित विद्यालय शिक्षा’, ‘नगर हरित विद्यालय’, ‘एक विद्यालय– एक खेलकुद’ र ‘ एक विद्यालय– एक स्वास्थ्यकर्मी’को व्यवस्था गरिने व्यवस्था गरिएको छ ।

क्षेत्रगत प्राथमिकताको आधारको १० नम्बर मा कृषि तथा पशुपंक्षी विकास नीतिलाई राखिएपनि सबैभन्दा धेरै २६ वटा बुँदामा समेटिएको छ । ‘किसानको मान, कोहलपुरको पहिचान’ भन्ने मूल नारा सहित कृषि कार्यमा संलग्नलाई पुरस्कृत गर्न, नगर प्रमुख उत्कृष्ट कृषक÷ कृषि उद्धमी÷सहकारी र समूह कार्यक्रम लागू गरिनेछ ।

यसैगरी नगरका विभिन्न वडाहरुमा स्रोत केन्द्र स्थापना गर्न, उद्यमशिल कार्यक्रम निर्माण गर्न, धान तथा मकै खेतीमा प्रोत्साहन गर्नको लागि ‘घर घरमा महिला उद्यमी, आउनेछ घरमा शान्ति र समृद्धि’ नाराका साथ कार्यक्रम लागू गरिने, विभिन्न वडामा पकेट क्षेत्र निर्माण, नगरपालिकालाई तरकारी, खाद्यान्न, फलफूल, दुध र अण्डामा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । यस्तै‘ एक घर दुई बिरुवा’ अभियान,‘ एक उपज–एक नमूना कृषि फर्म ’,‘एक वडा– एक नमूना फर्म’ र ‘एक वडा– एक नर्सरी ’ कार्यक्रम लागू गरिने बताइएको छ ।

यस्तै पकेट क्षेत्र, ब्लक, कृषि जोन घोषणा गरि नगरपालिकालाई २ वर्षमा आलु, ३ वर्षमा चामल र ५ वर्षमा गहुँ र मकैमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । कृषिमा यान्त्रीकरण, आधुनिकीकरण र बजारीकरण कार्यक्रम, गाईं भैंसी सुत्केरी कार्यक्रमलाई निरन्तरता र कृषिमा ‘के पाइन्छ होइन र के चाहिन्छ’ भन्ने नीति अबलम्बन गरि कृषि कार्यक्रम ‘एक घर–एक करेसाबारी’ र कौशीखेती सञ्चालन गरिनेछ । यसैगरी बिउ पूँजीको व्यवस्था,‘स्थानीय अर्थतन्त्रको सबलीकरण, कृषिको आधुनिकीकरण’ भन्ने नारा सहित कृषियोग्य जमिनको चक्लाबन्दी, गरी कबुलियती खेती, सामूहिक खेती र करार खेती गर्न प्रोत्साहन गर्ने, महिला, युवा दलित, विपन्न वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई कृषिमा आधारित व्यवसाय सञ्चालनको लागि भूमि बैंक मार्फत लिजमा जग्गाको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

अन्य महत्वाकांक्षी योजना

बुँदा नम्बर ३ मा रहेको युवा तथा खेलकुद नीतिमा विगत धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नयाँ नीतिका रुपमा ‘ एक घर –एक रोजगार’ र ‘लागू औषध दुव्र्यसनीमुक्त हाम्रो रहर, शान्ति र सद्धावयुक्त कोहलपुर नगर’ भन्ने नारा सहित त्यसका विरुद्ध युवा सक्रियता बढाएर वडा स्तरमा युवा क्लब र बावविवाह मुक्त नगर घोषणाका लागि नगर स्तरीय युवा सञ्जाल गरी नमूना युवा संसदको अभ्यास गर्ने नीति लिइएको छ ।

४ नम्बर बुँदामा समेटिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक नीतिमा बालमैत्री र बालविवाह मुक्त नगर घोषणाका लागि कार्यक्रम सञ्चालन गर्ने,‘नगर प्रमुख छात्रवृत्ति कार्यक्रम’ मार्फत मुस्लिम, वादी, गन्धर्व, खटिक चिडिमार, राजी लगायत सीमान्तकृत र लोपउन्मुख समुदायका बालबालिकाहरुलाई आधारभूत तहसम्म शिक्षाको पहुँच अभिवृद्धि गरिने र बालविवाह तथा विद्यालय छोड्ने दरमा कमी ल्याउने, बालबालिकाहरुका लागि पुनस्र्थापना गृह सञ्चालन गरिने उल्लेख छ ।

यस्तै जेष्ठ नागरिक, विपन्न वर्ग र गर्भवतीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, सामाजिक सुरक्षा भत्ताको दायरामा नपरेका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई लागि वार्षिक १५ सय रुपैयाँ र ग वर्गका अपांगता भएका व्यक्तिहरुलाई ‘नगर प्रमुख सामाजिक सुरक्षा कार्यक्रम’ मार्फत सुरक्षा भत्ता उपलब्ध गराउने र नगर पिता र नगर माता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

पाँच नम्बर बुँदामा समेटिएको दलित अपांग, आदिवासी, जनजाती तथा अन्य विपन्न वर्गको नीतिमा विपन्न वर्गहरुको सामाजिक परिचालन र सशक्तिकरण कार्यक्रम, नगरपालिका गठन हुने समिति, समूह तथा कार्यदललाई लैंगिक तथा समावेशी बनाइने, मानवीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै मानव सभ्यता र संस्कृतिहरुको प्रवद्र्धन गरी सरल जीवन शैली पद्धतिका धरातलमा ‘मानवताको सहर, कोहलपुर नगर’ बनाउन सचेतकीकरण तथा प्रबोधीकरण कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने, विपन्न अपांगता भएका व्यक्ति र घाइतेहरुको निःशुल्क बीमा र औषधी उपचार गरिने उल्लेख छ ।

भाषा, साहित्य र ललित कला नीति अन्तर्गत कोहलपुरको समग्र भाषा, लिपि, संस्कृति भेषभूषाहरुको संक्षरण प्रर्वद्धनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने, सिल्पी पेसालाई नयाँ प्रविधिसँग जोड्ने, पर्यटन गतिविधि सञ्चालन गर्ने, आधारभूत स्वास्थ्य नीतिमा ‘ खाद्य सुरक्षा तथा पोषण रणनीतिक योजना’ श्रावण महिनादेखि जनशक्ति र पूर्वाधार सहित १५ शैयाको अस्पताल सञ्चालन र खानेपानी तथा सरसफाई नीतिमा ‘एक घर–एक धारा’ कार्यक्रम देखि फोहोर मैला व्यवस्थापन, बधशाला निर्माण, मासुजन्य,खाद्य पदार्थको स्वच्छता कायम गर्न पशु बधस्थल भण्डारण, ढुवानी र बिक्री कक्षलाई व्यवस्थित गरिने नीति लिइएको छ ।

यस्तै सूचना तथा सञ्चार नीतिमा ‘ विकासका लागि सञ्चार’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कोहलपुरमा रहेका सञ्चार गृहको विकास र प्रर्वद्धनका लागि समावेशी विज्ञापन प्रणाली लागू गरिने, नगर स्तरीय सञ्चार ग्रामको पूर्वाधार निर्माणमा सहयोग गर्ने, स्थानीय सञ्चारकर्मीहरुको क्षमता विकासका लागि तालिम गोष्टी, लेखनवृत्ति तथा अध्ययन छात्रवृत्ति उपलब्ध गराइने र उत्कृष्ट स्थानीय सञ्चारकर्मीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने तथा नगरपालिकाले गरेका काम, प्रगती तथा उपलब्धिहरुलाई जनमास सम्म ल्याउन ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम र बुलेटिन प्रकाशित गर्ने र पत्रकारहरुको सुरक्षाका लागि दुर्घटना बीमा र पेसागत दक्षता अभिवृद्धिका लागि विकास पत्रकारिता लेखनवृत्ति लगायतका अवसर प्रदान गरिने नीति लिइएको छ ।

यसैगरी, शहरी, योजना तथा पूर्वाधार विकास नीतिमा बाँके जिल्लाको उत्तरी भूभागलाई एकिकृत गरी राप्तीसोनारी, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकालाई समेटी उप महानगरपालिका बनाउन विस्तृत सम्भाव्यता अध्ययनको कार्य अघि बढाइने, भूमि सम्बन्धी नीतिमा ‘भूमिहीनलाई घरबारी, गाउँ– गाउँमा रोजगारी’ भन्ने नारा सहित भूमिहीन अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने जस्ता महत्वाकांक्षी योजना समाबेश गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार ८, २०७८     9:30:54 AM  |