कर मिनाहा गर्न माग



कोहलपुर : कोहलपुर उद्योग वाणिज्य संघले कर मिनाहा गर्न माग गरेको छ । लामो समयको लकडाउनका कारण व्यवसाय ठप्प रहेको भन्दै कर मिनाहा गरिदिन माग गरेको हो । आइतबार संघलेको एक प्रतिनिधि मण्डलले कर मिनाहाका लागि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा लामो समयदेखि बन्दबन्दीका कारण व्यवसायीहरुलाई कर तिर्न अप्ठ्यारो परेको हुँदा नगरपालिकाले लिने सम्पूर्ण व्यवसायिक कर मिनाहा गरिदिन माग गरिएको हो । अध्यक्ष लक्ष्मण राज पौडेलद्धारा हस्ताक्षरित पत्रमा व्यवसायी मैत्री बजेट-कार्यक्रमको व्यवस्था मिलाईदिन हुन आग्रह गरिएको छ ।

‘२०७६ चैत्र ११ गते पहिलो चरणमा सरकारले लकडाउन ग¥यो । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहे । फेरी २०७८ बैशाख १३ गतेदेखि लकडाउन गरिएको छ । अर्कातिर सरकारले कर तिर्न ताकेता गरिरहेको छ । यस्तो अवस्थामा हामी कर तिर्न सक्दैनौँ ।’ उक्त पत्रमा भनिएको छ । धेरै व्यवसायीहरुले पहिलो पटकको लकडाउन हुँदा समस्या परेका कारण अहिले पनि बैंक व्याज, आयकर, घरबहाल कर, घर भाडा र अन्य कर बुझाउन समस्या भइरहेको बताइएको छ ।

केही दिन अघि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध उद्योगी व्यवसायीहरुे आन्दोलन गरेका थिए । उनीहरुले पनि सरकारले ताकेता गरेको मितिमा कर तिर्न नसकिने बताएका छन् । संघका महासचिव मातृका सापकोटाले लामो समयको कोरोनाका कारण निकै समस्या भएको बताए ।

उनका अनुसार स्थानीय सरकारलाई व्यवसायीहरुका समस्या बारेमा जानकारी गराउन तथा माग सम्बोधन गर्नको लागि पत्र बुझाइएको हो । यता कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले व्यवसायीहरुको माग पुरा गर्नको लागि आफूले आवश्यक पहल थाल्ने बताएका छन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अध्यक्ष लक्ष्मण राज पौडेल, महासचिव मातृका सापकोटा, उप–महासचिव दीपक भण्डारी र सदस्य यज्ञ प्रसाद सुवेदी सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ७ गते सोमबार