18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

नेपालगञ्जमा ब्राउनसुगरसहित युवक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ६, २०७८  

नेपालगञ्ज ।

बाँकेकाे डुडुवाका २० वर्षीय वाजित सल्मानी १९ ग्राम दुई सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले सल्मानीलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३, उदयपुरबाट पक्राउ गरेको हो ।

बाटोमा हिँडिरहेका सल्मानीलाई शनिबार साँझ शंका लागेर जाँच गर्दा उनले लगाएको जिन्स पाइन्टको बायाँ गोजीमा ब्राउनसुगर बरामद भएको प्रहरीले बताएको छ।

ब्यूरोले सल्मानीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाएको छ।

कोरोना कहरले नाकामा आवतजावतमा कडाई भइरहँदा कारोबारीले लागु औषध ब्राउनसुगरको ओसारपसार गरिरहेको प्रहरीले पक्राउ गरेका घटनाहरुले देखाएको छ।

सीमावर्ती शहर नेपालगञ्जमा ब्राउनसुगर बोकेर भारतीय नै आउँछन् भने यताका कारोबारी सीमापारी नै पुग्ने गर्दछन्। नाकामा खटिएको ब्यूरोको टोलीले विशेष सूचनाको आधार र नाकामा चेकजाँच गर्दा ठूलो मात्रामा ब्राउनसुगर बरामद गरिरहेको छ।

प्रकाशित मितिः आइतवार, असार ६, २०७८     1:00:30 PM  |