8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

भेरीमा आइपुगे दुई भेन्टिलेटर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार ३, २०७८  

नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताललाई थप दुई वटा भेन्टिलेटर प्राप्त भएकोे छ । पुर्वमन्त्री तथा बाँकेका संघीय सांसद मोहम्मद ईश्तियाक राईले आफ्नोे संसदीय कोषबाट भेरी अस्पतालका लागि दुई वटा भेन्टिलेटर खरिदको लागि ४५ लाख रुपैयाँ छुट्याएका थिए ।

सोही रकमबाट अस्पताललाई थप दुई वटा भेन्टिलेटर प्राप्त भएकोे हो । भेरी अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितालले दुई वटा भेन्टिलेटर प्राप्त भएको जनाएका हुन् । ‘विघटित संससदका माननीय ईश्तियाक राई ज्युको स्थानीय विकास पुर्वाधार कोषद्धारा भेरी अस्पतालमा भेन्टिलेटर खरिदका लागि विनियोजन गररेको ४५ लाख रुपियाँबाट खरिद गरिएको २ वटा भेन्टिलेटर नेपालगञ्ज उपमहानगर मार्फत भेरी अस्पतालमा आइपुगेको छ धन्यवाद मन्त्री ज्यु’ अस्पताल विकास समितिका अध्यक्ष धितालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गत महिना कोभिडको दोस्रो लहरका कारण धेरै नागरिक गम्भीर भएर भेन्टिलेटर र अक्सिजनकोे अभावमा ज्यान गुमाउनु परेकोले अब आगामी दिनमा यी भेन्टिलेटरबाट गम्भीर अवस्थाका विरामीको उपचारमा सहज हुने स्वास्थ्यकर्मी तथा अस्पताल विकास समितिले विश्वास लिएको छ । पुर्वमन्त्री राईले विकासको रकम अस्पताललाई उपलब्ध गराएकोमा यसबाट बाँकेका मात्र नभई समग्र पश्चिम नेपालकै विरामीको उपचारमा सजिलो हुने भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले बताए ।

यसअघि भेरी अस्पतालमा संक्रमित विरामीका लागि अक्सिजनको हाहाकार भएको बेला पनि पुर्वमन्त्री राईले स्थानीय विकास पुर्वाधार कोषबाट अक्सिजन खरिदका लागि ५० लाख रुपियाँ छुट्याएका थिए । यसैगरि भेरी अस्पतालका कुरुवा र विरामीलाई निकै सस्तो २० रुपियाँ छाकमा खाना खुवाई रहेको अन्जनी माता रसोई श्री सुन्दरकाण्ड मित्रमण्डललाार्ई पनि स्थानीय विकास पुर्वाधार कोषबाट ५ लाख रुपैयाँ उनले प्रदान गरेका छन् । सो रकमको खाद्यान्न नेपालगञ्ज उपमहानगर मार्फत अन्जनी माता रसोईले पाउने सो रसोइका प्रवक्ता बिमल चन्दले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, असार ३, २०७८     8:18:31 AM  |