9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

काठमाडौँ ।

संसद विघटन सम्बन्धी रिटको सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार संवैधानिक इजलास पुनर्गठन गरेका छन्। उनले आफूसहित वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन्।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्।

यसअघि गठित इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयलाई लिएर विवाद भएको थियो। यसअघि जेठ १४ गतेदेखि संवैधानिक इजलासमा सुनुवाई थालिए पनि ‘पिक एण्ड चुज’ का आधारमा न्यायाधीश राखिएपछि विवादित भएको थियो।

उक्त इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको उपस्थितप्रति १४६ जना सांसदका वकिलहरुले प्रश्न उठाएका थिए। उनीहरुले नेकपाको एकतालाई शून्यमा झार्ने आदेश गरेको र उक्त आदेशमा पुनरावलोकनका लागि निस्सा नदिएको निवेदक पक्षको भनाइ थियो।

उनीहरुले इजलास छाड्न अस्वीकार गरेपछि दीकपकुमार कार्की र आनन्दमोहन भट्टराईले छाडेका थिए। वरिष्ठताका आधारमा इजलास गठन भएमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ रहने थिए।

तर गत पुस ५ गते गरिएको संसद विघटनको रिट निवेदनको सुनुवाइ हुँदा हरिकृष्णले इजलास छाडेका थिए। केपी ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका कारण प्रश्न उठेपछि स्वार्थ बाझिने भन्दै उनले इजलास छाडेका थिए।

सोही कारण यो पटक पनि विवाद नहोस् भनेर कार्कीपछि लगत्तैको बरियताका न्यायाधीश खतिवडालाई स्थान दिइएको हो।

यस्तै आइतबार गठन भएको इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ पनि छैनन् । हाल उनी कोरोना संक्रमणका कारण स्वास्थ्य लाभ गरिरहेका छन्। उनी केही समयदेखि कार्यालय गएका छैनन्। उनीपछिको बरियताका भट्टराई इजलासमा परेका छन्।

जेठ ८ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा भएको संसद विघटन विरुद्ध सर्वोच्चमा ३० वटा रिट निवेदन दर्ता भएको छ। ती रिटको मेरिटमा आधारित सुनुवाइ आइतबारदेखि हुन लागेको हो।

 

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     10:54:44 AM  |