29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

‘कोरोना मलाई झम्टिन आएको थियो, जाँदा ह्वाँ…ह्वाँ… रोएर गयो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

कलाकार मदनकृष्ण श्रेष्ठले कोरोनाभाइरस निकै बलियो रहेको बताएका छन्। उनले आफू संक्रमित भएपछि भोग्नु परेको कठिनाइ र कोरोनामुक्त भएकोबारे मंगलबार फेसबुकमार्फत् जानकारी गराएका हुन्।

उनले आफ्नो अनुभव रोचक शैलीमा लेखेका छन्। वैशाख ६ गते मदनकृष्णसहित उनको परिवार सबै जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएको केहीदिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

‘म पहिलो पटक ८ दिन, फेरि दोस्रोपल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्।

उनले आफूलाई माया, शुभेक्षा र आशिर्वाद दिने तथा स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सबैमा कृतज्ञता व्यक्त गरेका छन्। सोही आशिर्वाद आफूलाई लागेको श्रेष्ठले बताए।

उनले अमृतमय मायाको बलले कोरोनारूपी विषलाई मज्जाले पचाएको बताएका छन्।

‘कोरोनाले मलाई पछार्न त नराम्रैसँग पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्‍यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेलाबेलामा तर्सायो पनि। बलियोचाहिँ निक्कै बलियो रहेछ बजिया…,’ श्रेष्ठले लेखेका छन्,’ तर सबैको माया, शुभेक्षा, प्रार्थना र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन। पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर ह्वाँ… ह्वाँ… रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो।’

उनीसहित परिवारले सोमबार पिसिआर परीक्षण गराएका थिए। सबैको नेगेटिभ आए पनि उनको भने पोजिटिभ आएको थियो।

जसकारण शरिर अलिअलि शिथिल भएको र कम हुँदै गएको बताए। डाक्टरहरूले उनको शरिरमा एन्टिबडी बनिसकेको हुँदा संक्रमण पुष्टि भए पनि अरूलाई नसर्ने जानकारी गराएका छन्।

‘कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्किन्सन छ, प्रोष्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टिपेसनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद,’ उनले लेखेका छन्,’मनमा अझै पनि पूरा खुसी लागेको भने छैन। देशमा अझै पनि कोरोना पीडितहरू धेरै बाँकी नै छन् कतिपय अझ थपिँदै पनि छन्। यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यही कुलंगार कोरोना नै हुन्।’

त्यस्तै, कोरोनाभाइरसको महामारीलाई नियन्त्रण गर्न उनले सरकारलाई यसलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गरेका छन्।

सबै राष्ट्रसँग पहल गरी खोप ल्याएर जनताको ज्यान जोगाउन भनेका हुन्।

उनले अन्तिममा सरकारसँग प्रश्न समेत गरेका छन्,’जनता नै भएन भने कसलाई शासन गर्ने? हैन त??’

यस्तो छ मदनकृष्णको स्टाटस

मलाई माया, शुभेक्षा र आशिर्वाद वर्षाउँदै,मेरो स्वास्थ्य प्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

यहाँहरुको आशिर्वाद लाग्यो मलाई।

यहाँहरुबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाईयो।

कोरोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्यो। पछार्यो मात्र हैन अझ लछार्यो र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो बेला बेलामा तर्सायो पनि।

बलियो चाहिँ निक्कै बलियो रहेछ बजिया …।

तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले जित्न भने सकेन।

पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर

ह्वाँ… ह्वाँ … रुँदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो…।

अब शरिरमा अलि अलि शिथिलता बाँकी छ। त्यो पनि अलि अलि गर्दै कमकम हुँदैछ।

म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो।

डाक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनीसकेको छ। अब तपाईको शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन।

एक प्रकारले भ्याक्सिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन्।

तर म मेरो पिसिआर रिपोर्ट नेगेटिभ आयो … भनेर सबैलाई सुनाउने ईच्छाले केहि नलेखी चुपचाप कुरीरहेको थिएँ।

तर हिजो फेरि पिसिआर टेष्ट गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो।

मेरोमा अझै अलि पोजेटिभ बाँकी रहेको देखाएको छ। डाक्टरहरुको भनाई अनुसार मेरो शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन्।

अब खाली ती मरेका भाइरसका लाशहरु मात्र बाँकी छन्। त्यो बाँकी हुञ्जेल पनि मेशिनले पोजेटिभ नै देखाउँछ। त्यस्ले केहि फरक पर्दैन, केहि दिन पछि त्यो पनि आफैँ जान्छ भनेका छन्।

जे होस बाँचियो बा …!

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला सायद|

यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने लाखौँ लाख शुभेक्षकहरुपनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा।

यो कुरा मैले हजुरहरुलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ।

मनमा अझै पनि पूरा खुशी लागेको भने छैन।

देशमा अझै पनि कोरोना पिडीतहरु धेरै बाकी नै छन् कतिपय अझ थपिँदै पनि छन्। यस अवस्थामा देशको सबैभन्दा ठूलो समस्या भन्नु यहि कुलंगार कोरोना नै हुन्।

सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न सम्झाउन चाहन्छु।

जनता नै भएन भने कस्लाई शासन गर्ने? हैन त ??

सबैको जय होस्।

सबैको कल्याण होस्।

कोरोनाबाट संसार चाँडै मुक्त होस्।

धन्यवाद

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     1:43:50 PM  |