भक्तपुर, ११ जेठ (रासस) जिल्ला समन्वय समितिले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई कोभिडका बिरामीका लागि अत्यावश्यक डिजिटल एक्स–रे मेशिन खरीदका गर्न रु ३० लाख सहयोग गरेको छ ।
वडा नं ४ हुचिढुङ्गामा आफ्नै भवनमा सञ्चालन भएको अस्पताललाई नगरपालिकाले कोरोना महामारी फैलिएपछि सङ्क्रमित स्थानीयवासीको उपचार गर्दै आएको ग्रामीण क्षेत्रको सो अस्पताललाई सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि नगरप्रमुख सोमप्रसाद मिश्रले दातालाई सार्वजनिक रूपमा नै सहयोगको आह्वान गर्नुभएको थियो ।
आह्वानपछि जिससले कोरोना सङ्क्रमित बिरामीको एक्स–रे गर्ने मेशिन अत्यावश्क परेको जानकारी पाएपछि मेशिनका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरेको जिसस प्रमुख नवराज गेलालले जानकारी दिनुभयो ।
अस्पतालको अनुगमनसमेत गर्दै उहाँले भन्नुभयो, “चाँगुनारायण अस्पताल जिल्लाकै ग्रामिण क्षेत्रमा सुविधासम्पन्न भवनमा सञ्चालित अस्पताल हो, कोरोनाका बिरामीले अहिले अक्सिजनदेखि श्ययासम्म नपाउने बेलामा यहाँका ग्रामीण क्षेत्रका बिरामीले आफ्नै ठाउँमा कोरोनाको उपचार पाइरहेका छन्, तर उपकरणको अभाव रहेको थाहा पाए, त्यसैले जिससबाट एक थान डिजिटल एक्स–रे खरीदका लागि तत्कालै रकम दिने निर्णय गरेको हौँ ।”
उहाँले अस्पतालको उपकरणका लागि अन्य निकायलाई पनि सहयोग गरिदिन आग्रह गर्नुभयो । यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यहीँ सहयोगबाट अस्पतालमा १५ श्ययाको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।
नगर प्रमुख मिश्रले अस्पतालका लागि डिजिटल एक्स–रे, आइसियुका लागि मोनिटर छ, हाइडोलिक श्यया १० थान र ल्याबका लागि सहयोग गर्न सार्वजनिक रूपमा आह्वान गर्नुभएको हो । नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्रार्फी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आइसियु श्यया, भेन्टिलेटर, ल्याब विस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरे पनि सहयोग पाएको छैन । नगरपालिकाले साना १४ र ठूला ३६ गरी ५० अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेको छ । अहिलेसम्म अक्सिजन छैन भनेर बिरामी फर्काउनु नपरेको प्रमुख मिश्र बताउनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्