लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष डण्डिराम चौधरी र सचिव सनमकुमार पौडेल कोरोना संक्रमितको लागि अक्सिजन व्यवस्थापनमा खटिएका छन् ।
देउखुरी क्षेत्रका व्यवसायी रहेका पौडेल तथा संस्थाका अध्यक्ष चौधरी अस्पतालमा छट्पटाइरहेका सङ्क्रमितको लागि अक्सिजनको व्यवस्थापनमा खटिएका हुन् ।
अहिले देउखुरी कोरोना विशेष अस्पतालका सबै बेड बिरामीले भरिएका छन् । ‘अस्पतालमा कसैले अक्सिजन पाएका छन् भने कोही अक्सिजन बिना अस्पतालमा छट्पटाइरहेका छन्’ चौधरीले भने, ‘यो महामारीको बेला हामी सबै एकजुट भएर लाग्नुपर्छ । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे अक्सिजनको अभावमा बिरामीले अकालमा गुमाउनु पर्दैन ।’
उनले आफुले प्रयोग गर्दै आएको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको गाडी सङ्क्रमितका लागि निशुल्क रूपमा अक्सिजन संकलनमा प्रयोग गरेका छन् ।
अर्को युवा पौडेल समेत सङ्क्रमितका लागि आवश्यक पर्ने अक्सिजन सिलिन्डरको व्यवस्थापनमा सक्रिय रहेका छन् । कोभिडका बिरामी राखिएको अस्पतालमासम्म अक्सिजनका सिलिन्डर बोकेर पु¥याउने चौधरी र पौडेलको अहिले दैनिकी नै हो ।
अक्सिजन हस्तान्तरण
देउखुरीको लमही खानेपानी उभोक्ता तथा सरसफाई संस्थाले पूर्वपश्चिम राजमार्गमा रहेको देउखुरीको लमही अस्पताल र देउखुरी कोरोना विशेष अस्पताललाई अक्सिजन सहयोग गरेको छ ।
संस्थाको बैठकले अक्सिजन खरिद गरि लमही अस्पताल र कोरोना अस्पतालमा उपचाररत संक्रमितलाई उपचारमा सहजता होस् भनेर संस्थाबाट अक्सिजन उपलब्ध गराउने निर्णय गरेको थियो । सोही अनुसार अक्सिजन खरिदको लागी पाँच लाख बजेट विनियोजन गरिएको थियो ।
संस्थाले अहिलेसम्म ७८ वटा अक्सिजन सिलिण्डर सहयोग गरेको संस्थाका सचिव सनमकुमार पौडेलले जानकारी दिए । ‘थप अन्य अक्सिजनको खोजी कार्य भैइरहको छ’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्