27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

नेपालमा औसतभन्दा बढी वर्षा हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

कोहलपुर ।

नेपालमा यसपालि औसतभन्दा बढी बर्षा हुने भएको छ । जल तथा मौसम विभागको हावापानी विज्ञान महाशाखाले यसपालि नेपालमा औसतभन्दा बढी वर्षा हुने बताएको हो । दक्षिण एसियाली मुलुकका मौसमविद् र वैज्ञानिकहरूको भेलाबाट हरेक वर्ष यो क्षेत्रमा कस्तो मनुसुनी गतिविधि हुन्छ भन्ने आँकलन गरिन्छ ।

‘सबै ८ देशका मौसमविद्सँगै उक्त भेलामा अरू देशका पनि मौसमविद् र वैज्ञानिकहरू सहभागी हुन्छन् । त्यहाँ सबैले आ–आफ्नो देशमा कस्तो मनसुनी गतिविधि हुन सक्छ भनेर कुरा राख्छन्,’ महाशाखाकी प्रमुख इन्दिरा कँडेलले भनिन्, ‘त्यसपछि यो क्षेत्रमा कुनै वर्षको मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान सार्वजनिक गरिन्छ ।’ यसपालि उक्त भेला भर्चुअल रूपमा भएको उनले बताइन् ।

उनका अनुसार यसपालि मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुनेछ । ‘आगामी मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी बर्षा हुने सम्भावना ३५–६५% (हिमाली भू–भागहरुमा ५५–६५%, उच्च पहाडी भू–भागहरुमा ४५–५५% र चुरे तथा महाभारत क्षेत्रमा ३५–४५%) आँकलन गरिएको छ,’ कँडेलले भनिनले भनिन्, ‘त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिमी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५–४५%, र प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५–४५% आँकलन गरिएको छ ।’

बिहीबार यसपालिको मनसुन दक्षिणी भारतको केरला आइपुगेको महाशाखाले जनाएको छ । अनुमान गरेभन्दा मनसुन तीन दिन ढिला केरला पुगेको हो । अब मनसुन त्यहाँबाट बंगालको खाडी हुँदै नेपाल आउने मौसम विभागले बताएको छ । मौसमविद्हरूका अनुसार केरला पुगेको मनसुनलाई नेपाल आइपुग्न सरदर १० दिन लाग्छ । कहिलेकाहीँ केही परिस्थिति बदलिए मनसुन ढिलो वा चाँडो हुन सक्छ ।

नेपालमा मनसुन आउने औसत समय जुन १० हो । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुनी वायुको प्रभावले वर्षा गराउँछ । यी विभिन्न अवस्थालाई अध्ययन गरेर विभागले कुन वर्षको मौसम कस्तो हुन्छ भन्ने अनुमान गर्छ । ‘यसपालि पूर्वी क्षेत्रमा औसतभन्दा कम र पश्चिमी नेपालमा औसत मनसुनी पानी पर्ने सम्भावना छ,’ कंडेलले भनिन् ।
केरलाबाट बाँडिन्छ मनसुन
केरला आइपुगेको मनसुन त्यहाँबाट दुईतिर बाँडिन्छ । एउटा पश्चिमी तट हुँदै अरेबियन सागरतिर माथि जान्छ, पश्चिम भारत र पाकिस्तानमा पानी पार्न । अर्को समुद्र हुँदै बंगालको खाडी आइपुग्छ । यसले म्यानमार, बंगलादेश, भुटान, पूर्वीभारत र नेपालमा पानी पार्छ । बंगालको खाडी आएको मनसुन फेरि सजिलै नेपाल पस्न सक्दैन । त्यसका लागि उत्तरबाट आउने पश्चिमी वायूले बाटो खाली
गरिदिनु पर्छ । नेपालमा हिउँदका छ महिना पश्चिमी वायूको दबदबा हुन्छ । पश्चिमी वायू उत्तर नसरेसम्म मनसुनको केही चल्दैन । ‘ऊ कि त उतै केरला रोकिएर बस्छ नभए बंगालको खाडीबाट यहाँ आउन खोजे पनि सक्दैन,’ कंडेलले भनिन्, ‘अप्रिल र मेमा नेपालमा यी दुई वायूको झगडा नै पर्छ ।’

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     8:49:22 AM  |