लागूऔषधसहित ६ युवा पक्राउ



कोहलपुर ।

निषेधाज्ञाको समयमा लागूऔषध ब्राउनसुगरसहित बाँकेमा ४ जना पक्राउ परेका छन् । लागूऔषध ब्र्राउनसुगुर ल्याएर नेपालगञ्जतर्फ आउँदै गरेको अवस्थामा जमुनाहाबाट ४ जना युवक पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार नेपाल भारत सीमा नाकाबाट लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
सीमा क्षेत्र नेपालगञ्ज उप–महानगरपालिका, १५ बाट पक्राउ पर्नेमा भारत बहराइचका १८ वर्षीय सनी निसार र सोही ठाउँकै १८ वर्षीय नौसाद तेली रहेका छन् ।

उनीहरुको साथबाट ११ ग्राम लागूऔषध ब्राउनसुगर फेला पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज प्रहरी नायब निरीक्षक बिष्णु गिरीले जानकारी दिए । यस्तै जमुनाहा प्रहरीले नै भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ७ ग्राम ब्राउनसुगरसहित २ युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उप–महानगरपालिका, ८ दाङका ३५ वर्षीय दिपक ओली र ३४ वर्षीय पदम शाही रहेका छन् । उनीहरु सबैलाई जमुनाहा प्रहरीको सहयोगमा लागूऔषध ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीहरु सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

सुर्खेतमा ब्राउनसुगरसहित दुई पक्राउ

सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको डीएसपी घर्तीले बताए ।

उनीहरु दुवै जनालाई बुधबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ वैशाख २४ गते शुक्रबार