विवेकशील साझाबाट आएका ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ७ जना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी समायोजन पछि आएकामध्ये ७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा, रञ्जु दर्शना रहेका छन् । उनीहरू विवेकशील साझा पार्टी छाडेर गत मंसिर १४ गते रास्वपा प्रवेश गरेका थिए ।

बास्कोटा विवेकशील साझा पार्टीको अध्यक्ष थिइन् भने दर्शना महासचिव थिइन् । उनीहरू निशर्त रास्वपामा प्रवेश गरेका थिए । १३ वर्षअघि अभियानबाट सुरु भई दल बनेको विवेकशील साझा र ४० महिना अघि जन्मिएको रास्वपाबीच एकता भएको थियो ।

२०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा विवेकशील अभियान सुरु भएको थियो । २०७० सालमा विवेकशील नेपाली दल गठन भई चुनावी प्रतिस्पर्धामा सुरु गरेको थियो । रास्वपा भने २०७९ असार ७ गते स्थापना भएको हो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार