गंगाधर पौडेल । कोहलपुर ।
कोरोना दोस्रो लहरको हटस्पट बनेको बाँकेमा संक्रमितहरु निको भएर घर फर्किने क्रम बढेको छ । बैशाखको शुरुवातबाटै कोरोना हटस्पट बनेको बाँकेमा पछिल्लो समय संक्रमितहरु निको हुने क्रम बढेको हो । जिल्लामा नयाँ संक्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो संख्यामा संक्रमितहरु कोरोना जितेर घर फर्किन थालेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
सोही क्रममा पछिल्लो २४ घण्टामा सोमबार १२५ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका थिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले सोमबार मात्रै एकैदिन सात वर्षीया बालिकादेखि ७३ वर्षीया वृद्धासमेत गरेर १२५ जना कोरोना जितेर घर फर्किएको जानकारी दिए । ‘उच्च मनोबलका साथ कोरोनासँग लडेका १२५ जना कोरोनालाई परास्त गरेर घर फर्किनुभएको छ’ उनले भने, ‘यो सबैको लागि खुशीको कुरा हो ।’
योसँगै बैशाख १ गतेदेखि सोमबारसम्म मात्रै बाँकेमा ४२६ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएको फोकल पर्सन ओलीले बताए । ‘बाँकेमा कोरोनाको सङ्क्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकांश आइसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका थिए’ उनले भने, ‘सोमबार मात्रै १२५ जनालाई सङ्क्रमणमुक्त बनाई घर पठाउन पाउँदा निकै खुशी लाग्यो ।’
आइतबार मात्र बाँकेमा १० जना कोरोना जितेर घर फर्किएका थिए । रसम्म बाँकेमा ५४ हजार ५७१ जनाको कोरोना परिक्षण गरिएकोमा सात हजार ४९७ जनामा सङ्क्रमण देखिएको थियो । जसमध्ये सोमबार दिउँसोसम्म पाँच हजार १२८ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका थिए । पछिल्लो २४ घण्टामा देशभर ३७८ जना संक्रमित कोरोना जितेर घर फर्किदा बाँकेमा मात्रै १२५ जना कोरोना जितेर घर फर्किएका
हुन् ।