नेपालगञ्ज, वैशाख १३ गते ।
वैशाख महिनाको शुरुवातबाटै कोराेना हटस्पट बनेको बाँकेमा संक्रमितहरु निको हुने क्रम पनि बढेको छ । सङ्क्रमित थपिने र मृत्यु हुने क्रम जारी रहेकै बेला ठूलो सङ्ख्यामा सङ्क्रमितहरू कोरोना जितेर घर फर्किन थालेका छन् ।
सोही क्रममा बाँकेमा सोमबार मात्रै एकैदिन सात वर्षीया बालिकादेखि ७३ वर्षीया वृद्धासमेत गरेर १२५ जना कोरोना सङ्क्रमणमुक्त हुँदै डिस्चार्ज भएर आ आफ्नो घर फर्किएका छन् ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार उच्च मनोबलका साथ कोरोनासँग लडेका १२५ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएका छन् ।
योसँगै वैशाख १ गतेदेखि सोमवारसम्म मात्रै बाँकेमा ४२६ जनाले कोरोनालाई परास्त गरेर घर फर्किएको फोकल पर्सन ओलीले बताउनुभयो ।
बाँकेमा कोरोनाको सङ्क्रमण दर ह्वात्तै बढेसँगै यहाँ रहेका अधिकांश आइसोलेशन केन्द्र तथा अस्पताल भरिभराउ भएका थिए । तर, सोमवार मात्रै १२५ जनालाई सङ्क्रमणमुक्त बनाई घर पठाउन पाउँदा निकै खुशी लागेको ओलीले बताउनुभयो ।
जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आइतबारसम्म बाँकेमा ५४ हजार ५७१ जनाको कोरोना परिक्षण गरिएकोमा सात हजार ४९७ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये सोमबार बिहानसम्म पाँच हजार १२८ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । निको हुने क्रम पनि अब दिनदिनै बढ्दै जाने जिल्ला कोभिड–१९ सङ्कट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।