20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

सोमबार एकैदिन बाँकेमा कोरोनाबाट ४ को मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८  

बाँकेमा कोरोना संक्रमणका कारण सोमबार एकै दिन ४ जनाले ज्यान गुमाएका छन । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका ४ जनाको सोमबार उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ३ जना बाँकेका र १ जना बर्दियाका संक्रमित रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन ।

सोमबार बिहान ७ बजे कोहलपुर नगरपालिका ५ की ४५ वर्षिय महिलाको उपचारकै क्रममा मृत्यु भएको थियो । बैशाख ११ गते पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिएपछि ति महिलालाई १२ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरीएको थियो । अस्पताल भर्ना भएको एक दिनपछि उपचारकै क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

त्यसैगरी भेरी अस्पताल नेपालगन्जमा उपचाररत बढैयाताल गाउँपालिका-८ बर्दियाका ४३ वर्षिय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परिक्षण गराएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि उपचारकालागि भेरी अस्पताल पुर्याय लगत्तै सोमबार दिउँसो १२ बजे उनको मृत्यु भएको हो ।

त्यस्तै नेपालगन्ज मेडिकल नेपालगन्जको प्री आइसोलेसनमा बैशाख १२ गते भर्ना भएका नेपालगन्ज उप-महानगरपालिका-४ का ५५ वर्षिय महिलाको सोमबार दिउँसो २:३५ बजे मृत्यु भएको छ । उनको आईतबार बेलुका ५ बजे मेडिकल कलेजमै पीसीआर परिक्षण गरिएको थियो । यसैबिच होम आइसोलेसनमा बसेका खजुरा गाउँपालिका-२ बाँकेका ८८ वर्षिय बृद्धको समेत मृत्यु भएको छ । बैशाख ४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका लागि भर्ना हुनुभएका बृद्धको बैशाख ५ गते पीसीआर परिक्षण गरिएको थियो ।

बैशाख १२ गते आफन्तले होम आइसोलेसनमा राख्ने भनि लगेकोमा सोमबार ४ बजे उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन वलीले जानकारी दिए ।

योसँगै बाँकेमा बाहिर जिल्लाबाट उपचारका लागि आएका १०५ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणका कारण बाँकेकै ८९ जनाले हालसम्म ज्यान गुमाएका छन् ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७८     7:42:41 PM  |