25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

सम्पादकीय : निषेधाज्ञा पालना गरौँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८  

बाँकेको नेपालगञ्जमा एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ । दैनिक कोरोना संक्रमण उच्च बन्दै गएपछि बाँकेमा निषेधाज्ञा लागू गरिएको हो । बिहीबारबाट जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको साङ्लो तोड्नको लागि निषेधाज्ञा लागू गर्नुपरेको जनाएको छ । यसअघि जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्दले लकडाउन वा निषेधाज्ञाको लागि सिफारिस गरेको थियो । नेपालगञ्जमा निषेधाज्ञा एक साता लागू हुनेछ । आगामी १५ गते रातिसम्म निषेधाज्ञा जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बाँकेमा कोरोना संक्रमण दर उच्च बन्दै गएपछि दोस्रो पटक कडा खालको निषेधाज्ञा जारी गर्न परेको हो ।

यसअघि गत वर्षपनि लामो समयमा नेपालगन्ज सहित बाँके जिल्लामा कडा लकडाउन गरिएको थियो । त्यसले गर्दा बाँके निकै प्रभावित बन्यो । अहिले भने झन् जटिल अवस्थाबाट बाँके गुज्रिरहेको छ । अस्पतालमा उपचारको लागि बेड नै नपाउने अवस्थामा पुगेको छ । जिल्लामा अस्पतालमा भएका कोभिड बेडमा क्षमता भन्दा बढी संंक्रमित थपिरहेका छन् । जिल्लाका अन्य पालिकामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । अन्य पालिका समेत कोरोनाको उच्च जोखिममा रहेका छन् । एउटै ठाउँमा मात्रै लकडाउन गरेमा अरु ठाउँमा झन कोरोना सक्रमण बढ्न सक्ने तर्फ पनि सरोकारवालाले ध्यान पु¥याउनु पर्ने देखिन्छ । त्यसैले सबैले सचेत हुनु पर्ने बेला भएको छ ।

विपद्को बेला सहयोगी भूमिका खेल्ने भनेको जनताको नजिकैको सरकार हो । स्थानीय सरकार यसमा गम्भीर रुपमा लाग्नु पर्ने हो । तर अहिलेसम्म स्थानीय सरकारले कोरोना नियन्त्रणको लागि सजकता अपनाएको पाइदैन । उनीहरुले कोरोना नियन्त्रणका लागि योजनाका साथ अघि बढनुपर्छ । अहिले नेपालगञ्जपछि सबैभन्दा बढी प्रभावित कोहलपुर देखिएको छ । अन्य पालिकामा समेत कोरोनाको जोखिम उस्तै छ । त्यसैले कोरोना विरुद्ध व्यापक सचेतना अहिलेको आवश्यकता हो । पहिलो चरणको कोरोना भन्दा अहिलेको नयाँ भेरियन्ट निकै घातक मानिएको छ । यसले विशेषगरी यूवा पुस्तालाई बढि सताइरहेको छ । पछिल्लो समय मृतकको संख्यामा बढी यूवा पुस्ता रहेको छ । त्यसैले यूवा पुस्ताले हामीलाई केही हुँदैन भनेर लापरबाही गर्नुहुँदैन । बालबालिका र बृद्धबृद्धालाई यसबाट बचाउनुपर्छ । अब स्थानीय सरकारले कोरोना संक्रमण जोखिम न्यूनिकरणमा केन्द्रीत हुनुपर्छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख १०, २०७८     10:41:18 AM  |