११ औँ पटक, ५ लाखलाई खुवाइदैँ



शुभाकर विश्वकर्मा,  कोहलपुर 

बाँकेमा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम आजबाट सुरु हुदैँछ । बाँकेमा ११ औँ पटक खुवाउन लागिएको औषधि यसपटक जिल्लाभरका साढे ५ लाख भन्दा बढीलाई सेवन गराउने लक्ष्य छ । जिल्ला स्वस्थ्य कार्यालय बाँकेले बाँकेमा कुल ५ लाख ७६ हजार जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने लक्ष्य रहेको जनाएको छ । बाँकेमा पहिलोपटक यो औषधि आ.व. २०६७÷०६८ मा खुवाइएको थियो ।

पहिलोपटक तत्कालीन रझेना गा.वि.स. ४ मा गरिएको सर्वेक्षणमा बाँकेमा २१ प्रतिशत हात्तीपाइले रोगका बिरामी थिए । यो औषधि जम्मा ६ पटक खुवाउनुपर्ने हो । तर बाँके प्रत्येक वर्ष फेल हुँदै आएको छ । यहाँ सोचेभन्दा पनि कमले मात्र औषधि सेवन गर्छन् । त्यसैले ११ औँ पटक औषधि खुवाउन लागिएको हो ।

पहिलोपटक औषधि सेवन गराएको पाँच वर्षपछि खुवाउँदा रझेनामा १६ प्रतिशतमा झरेको पाइयो । त्यसको दुई वर्षपछि १३ प्रतिशतमा झरेको थियो । त्यतिबेला रझेना, बैजापुर नेपालगन्जमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइएको थियो । पछिल्लोपटक गत वर्ष ११ प्रतिशत हात्तीपाइले रोगका बिरामी भेटिएका थिए ।

अहिले अन्य क्षेत्रमा पनि खुवाइने भएपनि सेन्टिनल साइडका रुपमा रहेको रझेनामा १ प्रतिशत भन्दा कम हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका मलेरिया निरिक्षक तथा हात्ती पाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन रत्नलाल शर्मा बताउँछन् ।

उनले जिल्लाका आठ वटै पालिकामा एकैपटक अभियान सुरु भएको जानकारी दिए । यसपटकको अभियान अवधिभर नेपालगन्ज उप–महानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जनालाई औषधि सेवन गराउने लक्ष्य राखिएको छ । गत वर्ष नेपालगन्जमा सबैभन्दा कम ५२ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए ।

गतवर्ष ७७ प्रतिशतले औषधि सेवन गरेको कोहलपुर नगरपालिकामा ८५ हजार ३ सय ७० जना र बैजनाथ गाउँपालिकामा ६४ हजार ५ सय ४८ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । गतवर्ष बैजनाथमा ७६ प्रतिशतले औषधि सेवन गरेका थिए ।

यस्तै नरैनापुर गाउँपालिकामा ४० हजार ८ सय ४३ जनालाई औषधि सेवन गराइनेछ । नरैनापुरमा गतवर्ष सबैभन्दा बढी ७४ प्रतिशतले औषधि सेवन गरेको उनले जानकारी दिए । गतवर्ष ७२ प्रतिशतले औषधि सेवन गरेको डुडुवा गाउँपालिकामा यसपटकको अभियानमा ४३ हजार ४ सय ७८ जनालाई औषधि सेवन गराइने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका ७० हजार ८ सय ८४ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने लक्ष्य छ । यहाँ गतवर्ष ६९ प्रतिशतले औषधि सेवन गरेका थिए । यसैगरी जानकारी गाउँपालिकमा ४४ हजार १ सय ९९ जनालाई औषधि सेवन गराइनेछ ।
जहाँ गतवर्ष ७१ प्रतिशतले औषधि सेवन गरेका थिए भने खजुरा गाउँपालिकामा ५९ हजार ८ सय ६८ जनालाई औषधि खुवाइनेछ । यहाँ गतवर्ष ७१ प्रतिशतले औषधि सेवन गरेका थिए ।

औषधि नखाए सेवा सुविधा रोकिने

बैजनाथ गाउँपालिकामा अनिवार्य औषधि सेवन गर्न अपिल गरिएको छ । आजबाट सुरु हुने हात्तीपाइले रोग विरुद्धको आम औषधि वितरण राष्ट्रिय अभियानमा अनिवार्य सहभागी हुन अपिल गरिएको हो ।

बैजनाथका आठ वटै वडामा अभियानको क्रममा कुल ६४ हजार नागरिकलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखा प्रमुख लक्ष्मण राज शाहीले गाउँपालिकाका सम्पूण बुथमा सम्पूर्ण आवश्यक सामग्री पठाइसकेको जानकारी दिए ।
उनका अनुसार एक सातासम्म सञ्चालन हुने कार्यक्रमका लागि गाउँपालिकामा ५९ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । कार्यक्रम कै लागि अन्य ९ जना स्वयमसेवक परिचालन गरिएको उनले जानकारी दिए । यसैगरी ९२ जना महिला स्वास्थ्य स्वयंमसेविका परिचालित हुने स्वास्थ्य शाखा प्रमुख शाहीको भनाइ छ ।

औषधि खुवाइसकेपनि कुनै पनि गम्भीर समस्या देखिएका त्यसको व्यवस्थापनका लागि वनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकको व्यवस्था गरिएको पनि उनले बताए । सम्पूर्ण स्वास्थ्य संस्थामा हात्तीपाइलेको औषधि र अन्य आवश्यक सामग्री पुगिसकेको जानकारी उनले दिए ।‘हामी यो अभियानको क्रममा प्रत्येक गाउँबस्ती,घरघर र टोलटोलमा जानेछौ ।अभियानको क्रममा बढी भन्दा बढीलाई समेटने लक्ष्य रहेको छ । सोही अनुसार निर्देशन समेत जारी भएको छ ।’उनले भने ।

यस्तै गाउँपालिकाका अध्यक्ष देखि सम्पूर्ण वडा अध्यक्षहरुले अभियान सफल बनाउने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाइ छ । बैजनाथ गाउँपालिकामा औषधिबाट प्रभावित हुनेको संख्या कमै भएपनि औषधि सेवन नगर्नेहरु बढी रहेको बताए । उनी भन्छन्,‘सबैलाई अपिल पनि गरिएको छ । जुन समूहले औषधि खानुपर्ने हो, अनिवार्य खान आग्रह गरेका छौ । कसैले बाहना गरि नखाएमा सरकारी सुविधा रोकिनेछ । खानैपर्ने मान्छेले नखाएमा भोली रोग लागेर नसारोस भन्ने हो ।’

बैजनाथमा यो पटक उल्लेख्य सहभागिता हुने अपेक्षामा पनि गरिएको उनले बताए । त्यसैले औषधि सेवन बाध्यकारी बनाइएको छ ।
यता बैजनाथ गाउँपालिकाा अध्यक्ष मानबहादुर रुचाल ठकुरी समेत गाउँपालिकामा यस पटक निकै कडाइका साथ अनिवार्य उपस्थितिका लागि अपिल गरिएको बताउँछन् । यो अभियान सरकार आजदेखि १९ जिल्लामा सुरु गर्दैछ । चैत्र मसान्तसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : २०७७ चैत २० गते शुक्रबार