29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

सहकारीहरुलाई आग्रह, ‘ठेलादेखि उद्योगमा लगानी ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७  

कोहलपुर ।

बाँकेका सहकारीकर्मीहरुले सहकारी मार्फत ठेलादेखि उद्योगसम्म सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । बिहिबार भएको कोहलपुर नगरपालिका भित्रका उद्योगी, व्यवसायी, राजनितिक दल लगायत सरोकारवालाहरुसंग छलफलमा सहकारीमार्फत ठेलादेखि उद्योगसम्म लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर समितिका अध्यक्ष हेमविक्रम जिसीले सहकारीले ठेलादेखि उद्योगमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार सहकारीले बचत उठाउने र ऋण खाने मात्र काम होइन उद्योगहरुमा लगानी गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

यस्तै कोहलपुर कपडा व्यवसायिक अध्यक्ष एकराज भण्डारीले सहकारीले कपडा उत्पादन गर्ने गार्भेन्ट उद्योगमा लगानी गर्न आग्रह गरेका थिए । कोहलपुरमा साढे ३ सय बढी कपडा व्यवसायीहरु रहेका छन । कपडाहरु ल्याउनका लागि विभिन्न क्षेत्रमा जानुपर्ने समस्या रहेको उनले बताए । तर कोहलपुरमा नै सहकारी मार्फत गार्भेन्ट उद्योग सञ्चालनमा ल्याउन वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उक्त कार्यको लागि व्यापारीहरुबाट सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका सदस्य नविन कुमार शाहीले सहकारीहरुले कृषकले उत्पादन गरेको वस्तुहरुलाई संकलन गरी बजारीकरण गर्नुपर्नेमा जोड दिए । यसको लागि स्थानीय पालिका, उद्योग वाणिज्य संघ र अन्य निजी क्षेत्रहरु मिलेर काम गर्नुपर्ने उनको
भनाइ छ ।

‘लकडाउनको बेलामा स्वच्छ तरकारीहरु खाना पाएकै थियो । अहिले पूनः भारतीय विषादी भएका तरकारीहरु बजारमा आइरहेको छ । यसको अन्त्य गरी स्वदेशमा नै उत्पादन गरी उपभोग गर्ने पाउनुपर्छ ।’ उनले भने । उक्त अवसरमा बोल्दै नेपाली काँग्रेसका नगर सभापति बलराम शर्मा, कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र शर्मा लगायत अन्य वक्ताहरुले समेत बचतमा मात्र नभइ लगानीमा समेत जोड दिनुपर्ने बताएका थिए ।

यस्तै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले बाँके जिल्लाका सहकारीले गरेका गतिविधिहरुलाई प्रस्तुतीकरण गरेका थिए । उनका अनुसार सहकारीले बगर खेतीदेखि होमस्टे सञ्चालन गरिरहेका छन् । सहकारीले बेसार उत्पादन, मलबिक्री वितरण, प्रधानमन्त्री किसान परियोजना, शितभण्डार, सहकारी पसल, मिटमार्ट, भोजनालय, होमस्टे, बुटिक, मौरीपालन लगायत काम गर्दै आइरहेको उनले बताए । अध्यक्ष सुवेदीका अनुसार राइस मिल, अचार उद्योग, पापड उद्योग, बिउ प्रशोधन उद्योग, धान ८ हजार क्विन्टल, गहु ५ हजार क्विन्टल, आलु ४ हजार क्विन्टल विउ उत्पादन र १४ वटा डेरीहरु सञ्चालनमा छन् ।

अन्र्तक्रियामा बोल्दै बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अविरल खड्काले सरोकारवालाहरुबाट आएका सुझाव तथा सल्लाहहरुलाई मनन गरेर अघि बढ्नु उपयुक्त हुने धारणा राखे । उनका अनुसार अहिले नेपालमा ७३ लाख ७ हजार ४ सय ६२ जना शेयर सदस्य रहेका छन् भने शेर पूँजी ९४ अर्व १० करोड ५० लाख रहेको छ ।

सहकारीले नेपालमा ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारीमा रहेका उनको भनाइ थियो । यस्तै कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष नारायणी घिमिरे, कोहलपुर वडा नम्बर १ का अध्यक्ष गोपी खनाल र वडा नम्बर ६ का रामशरण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, चैत्र १३, २०७७     4:43:34 PM  |