हेमराज खत्री मृत्यु प्रकरणः वेपत्ता भएकै दिन मृत्यु



कृष्ण ओली । कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्रीको वेपत्ता भएकै दिन मृत्यु भएको पाइएको छ ।

माघ १४ गतेबाट सम्पर्कविहीन भएका उनको शव फागुन २ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टडुवाको जंगलमा फेला परेको थियो । खत्रीको वेपत्ता भएकै दिन १४ माघमा नै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले अनुसन्धानबाट खत्रीको मृत्यु १४ माघमै भएको खुल्न आएको पुष्टि गरे । क्राइम सीन हेर्दा नै आफुहरु सन्तुष्ट हुन नसकेपछि सोही बेलादेखि नै घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए । ‘के मानेमा सन्तुष्ट थिएनौं भने जुन प्रकारले त्यहाँ लासको पोजिशन देखियो ।

हामी केही न केही कारणले त मृत्युको कारणमा पुग्नु नै थियो’ प्रहरी नायब उपरीक्षक खनालले त्यतीबेलाको घटना सम्झिदै भने, ‘ज्यान मुद्दाको अनुसन्धानमा मृत्युको कारणमा पुग्न सकिएन भने खल्लो पनि हुन्छ ।

त्यही कारण खोज्दै जाँदा मृत्युको दिन, समय र कारणमा पुगेका हौं ।’ शव भेटिए लगत्तै उनले आफुले कमाण्ड लिदै कोहलपुर प्रहरीका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बमलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अगाडि बढाएका थिए ।

अनुसन्धानकै क्रममा पक्राउ परेकी मृतककी प्रेमिका भनिने श्यामकुमारी थारुले मृत्युको बारेमा खुलाएकी हुन् । अनुसन्धानका क्रममा प्रहरी समक्ष प्रेमिका थारुले रुखमा झुण्डिएको अवस्थामा खत्रीलाई फेला पारेको बताएकी थिइन् ।

‘क्राइम सीन हेर्दा बिष खाएर मृत्यु भएको जस्तो हामीले नपाएपछि अनुसन्धानलाई फराकिलो पारेका थियौं’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘पक्राउ परेकी आरोपितको फ्यासन अफ टाइम केलाउँदा मृत्युको दिन र कारण नजिक पुग्न सफल भएका हौं ।’

आरोपित थारुले दिएको बयान र मेडिकल रिपोर्ट र घटनाक्रमले समेत मेल खाने उनले दाबी गरे ।

१४ माघको दिउँसो साढे २ बजेदेखि ५ बजेसम्म आरोपितले दिएका बयानको प्रमाणले कुनै पनि पुष्टि नभएपछि सोही समयलाई नै आधार मानेर अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

‘दिउँसो साढे २ घण्टा छोडेर बिहान ६ बजे उठेदेखि राती साढे १० बजे सुत्दासम्मको सबै कुरा मेला खान्छ’ उनले भने, ‘तर दिउँसो साढे दुई घण्टाको समयको बयान अनुसार कुनै कुरामा मेल खाँदैन । त्यसैले फ्यासन अफ टाइम केलाउँदा घटनासँग जानकार र मेल खान पुग्यो ।’

पीडित परिवार र स्थानीयहरुको अनुसन्धानमा व्यापक सहयोग भएको बताउँदै प्रहरी नायब उपरीक्षक खनालले अनुसन्धान साघुरिदै गएको बताए । ‘हामीले अहिले त अनुसन्धान एकदमै न्यारोडाउन गरिसक्यौं’ मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘सुरुमा त अनुसन्धान चारैतिर फिजारिएको थियो ।

अहिले सबै बाटोलाई साघु¥याउँदै हामी चाँही मेन बाटोमा आइपुगेको अवस्था छ । अभियोग र अनुसन्धान प्रतिवदेन तयार भएर अब हामी केही दिनमा नै अनुसन्धानको निचोडतर्फ जान्छौं ।’ पीडित पक्षले प्रहरीको अनुसन्धानमा खोट लगाउने स्थान नपाउने गरी केही दिनमा घटनाको सत्यतथ्य सार्वजनिक गर्ने उनले दाबी गरे ।

घटनाको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुबराज बमले १४ माघमा दुवै जना साढे २ बजेदेखि ३ बजेबीचको समयमा मोटरसाइकलमा उक्त जंगलमा पुगेको देखिएको बताए । सोही क्रममा सामान्य विवाद हुँदा खत्री प्रेमिकाकै सल लिएर केही माथितर्फ गएको आरोपित थारुले बयान दिएको उनले जानकारी दिए ।

‘उक्त स्थान दुवै जनाको सधै भेटघाट गर्ने स्थान रहेको खुलेको छ’ प्रहरी निरीक्षक बमले मिसन टुडेसँग भने, ‘माथितर्फ लागेका खत्रीलाई १०/१५ मिनेटपछि खोज्न जाँदा रुखमा झुण्डिएको अवस्थामा फेला पारेको आरोपितले बयान दिएकी छिन् ।’

झुण्डिएको देखेपछि आफुले सल काट्दा खत्री भूइमा झरेपछि हेर्दा मृत्यु भइसकेको पाएपछि सल लिएर आफू घरतर्फ लागेको बयान दिएकी छिन् । उनको बयानको आधारमा प्रहरीले आरोपित थारुको घरमा नै पुगेर मृतक झुण्डिन प्रयोग गरेको सल, सल काट्न प्रयोग भएको ब्लेट समेत बरामद गरिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृतक खत्रीकी पत्नी कल्पना ओलीले उनी मृत भेटिनुभन्दा केही दिनअघि मात्र नेपालगन्जमा पत्रकार सम्मेलन गरेर आफ्ना पति हेमराजको परस्त्रीसँग सम्बन्ध रहेको र सोही कारणले पटक–पटक घरमा विवाद उत्पन्न भएको बताएकी थिइन् ।

आफ्नो पतिलाई प्रेमिकाले नै बन्धक बनाएर राखेको हुन सक्ने उनको आशंका थियो । कोहलपुर प्रहरीले शव नजिकै भेटिएको पिउने पानीको बोत्तल, चाउचाउको खोस्टो, मोटरसाइकल, भाँचिएको रुखको हाँखा, पछि बरामद भएका सल र ब्लेटलाई समेत प्रमाणको रुपमा लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १३ गते बिहीबार