24 February 2021  |   बिहिबार, फाल्गुन १३, २०७७

कोहलपुर उवासंघको निर्वाचन, चुनावी चहलपहल शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७  

कोहलपुर 

फागुन २२ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनको चहलपहल शुरु भएको छ ।संघको आगामी कार्यकालको लागि हुन लागेको निर्वाचनको चहलपहल शुरु भएको हो । यसपटकको निर्वाचनमा आगामी कार्यकालका लागि दुईवटा व्यापारीहरुको समूहबीच प्रतिष्पर्धा हुने देखिएको छ । कानुनी रुपमा मात्र फुट्न बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) निकट व्यवसायी र नेपाली काँग्रेस निकट व्यवसायीहरु चुनावको लागि छुट्टै प्यानल नै बनाएर चुनावी गतिविधिमा सक्रिय छन् ।

उनीहरु साझा समावेशी व्यवसायी प्यालन र लोकतान्त्रिक समावेशी व्यवसायी समूहका माध्यमबाट चुनावी मैदानमा उत्रने भएका हुन् । साझा समावेशी प्यालनको नेतृत्व विष्णु खनालले गरेका छन्, भने लोकतान्त्रिक समावेशी व्यवसायी समूहको नेतृत्व लक्ष्मण राज पौडेलले गरेका छन् । चुनाव कै लागि निर्वाचन कार्यतालिका अनुसार गतिविध शुरु हुन एकसाता बाँकी छदैँ दुवै पक्षले उम्मेदवारहरुको छनौट कार्य सम्पन्न गरिसकेका थिए । अहिले दुवैपक्ष आफ्नो पक्षमा व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने उद्देश्य सहित आन्तरिक रुपमा सक्रिय भइरहेका छन् । निर्वाचन मतपरिणाम आफ्नो पक्षमा ल्याउनको लागि ती समूहहरु सक्रिय भएका हुन् ।

दुवै पक्षको नारा र प्राथमिकता व्यवसायीहरुको हक र हितका लागि आफूहरु सक्रिय हुने र व्यवसायीहरुको एकतामा जोड रहेको छ । साझा समावेशी व्यवसायी प्यालनको अध्यक्षका उम्मेदवार विष्णु खनालले चुनावको पूर्वतयारी स्वरुप अहिलेसम्म उम्मेदवार छनौट, फर्म दर्ता र नविकरण गर्ने गराउने काम व्यवसायीहरुलाई आग्रह गर्ने कार्य सम्पन्न भएको जानकारी दिए । उनका अनुसार चुनाव प्रचार–प्रसारको लागि घरदैलो अभियान शुरु हुँदैछ । व्यवसायीहरुको हकहित र अधिकार सुनिश्चितताका लागि ‘व्यवसायीहरुको एकता’ लाई मुल नारा बनाएर अघि बढेको उनले बताए । कोहलपुरमा अहिले व्यापारिक वृतमा प्रमुख समस्याका रुपमा रहेको घरबहाल कर, भाडा र घरबेटीबाट समस्या भोगिरहेकाहरुका लागि आफू निरन्तर काम गर्ने उनले बताए ।

आफू विगत २३ वर्षदेखि उद्योग वाणिज्य संघमा रहेर व्यवसायीहरुको पीर र दुःख बुझेको भन्दै आफूलाई एकपटक मतदान गरेर जिताउन समेत सबैलाई उनले आग्रह गरेका छन् ।‘मैले विगतमा हारेपनि जितेपनि व्यवसायीहरुको पक्षमा काम गर्दै आएको छु । यो मेरो अन्तिम उम्मेदवारी पनि हो । जितेपनि हारेपनि त्यसपछि म चुनाव लड्दिन । मैले जिते भने कोहलपुर क्षेत्रमा रहेका समस्या समाधान र व्यवसायिक एकतामा जोड दिनेछु ।त्यसैले मलाई र मेरो टिमलाई भोट दिन आग्रह छ ।’ खनालले भने । उनले आगामी फागुन १५ गते आफ्नो घोषणा पत्र सार्वजनिक गर्ने समेत जानकारी दिए । यता लोकतान्त्रिक समावेशी व्यवसायी समूहले पनि व्यवसायीहरुको हित,कोहलपुरमा रहेका व्यवसायीहरुका समस्या समाधानलाई प्रमुख प्राथमिकता दिएको छ ।

यस्तै कोहलपुरका व्यवासयीहरु रुपैडिया गएर व्यापार अन्त्य हुने वातावरणको सिर्जना र निर्माणधिन उवासंघको पक्की भवन निर्माण कार्य सम्पन्न गर्ने र कृषि हाटबजारलाई पूर्णता दिने लगायत आफ्ना चुनावी एजेण्डा रहेको छ । उक्त प्यालनका महासचिवका उम्मेदवार मातृका प्रसाद सापकोटाले शनिबारसम्म व्यवसाय दर्ता तथा नविकरणको लागि व्यवसायीहरुको घरदैलो अभियानमा रहेको बताए । नयाँ दर्ता र नविकरणको समयसिमा सकिएसँगै अब चुनावको प्रचार–प्रसार र आफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियानको तयारीमा रहेको उनको भनाइ थियो ।

यी हुन् दुवै समूहका उम्मेदवार

साझा समावेशी व्यवसायी प्यालनबाट अध्यक्षको उम्मेदवार विष्ण खनाल हुन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार तेजप्रसाद अधिकारी छन् ।उपाध्यक्ष ‐उद्योग) तर्फ कमल खड्का र उपाध्यक्ष ‐वाणिज्य) तर्फ बलराम देवकोटा तथा महासचिव पदका उम्मेदवार नविन खड्का रहेका छन् । उप–महासचिव पदका उम्मेदवार परशुराम लामिछाने, कोषाध्यक्ष पदका खेमप्रसाद घिमिरे, सह–कोषाध्यक्ष पदको उम्मेदवारमा भुपेन्द्र प्रसाद काफ्ले रहेका छन् । यस्तै सदस्यहरुमा गंगाराम भण्डारी,वेदराज घिमिरे,विकास बुढाथोकी, अर्जुन प्रसाद सुवेदी, ओमप्रकाश चापागाई, जगत रामदाम, गोपाल प्रसाद अधिकारी र ओपेन्द्र नाथ योगी रहेका छन् ।

महिला सदस्यका उम्मेदवार भने अम्बिका आचार्य,कमला खड्का हुन् भने एसोसियट सदस्यका उम्मेदवार पुष्पराज न्यौपाने रहेको महासचिवको उम्मेदवार बनेको नविन खड्काले जानकारी दिए । यता लोकतान्त्रिक समावेशी व्यवसायी समूह तर्फबाट अध्यक्षको उम्मेदवार लक्ष्मण राज पौडेल रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टरराई रहेका छन् । उपाध्यक्ष ‐उद्योग) तर्फ चण्डी प्रसाद गैरे र उपाध्यक्ष ‐वाणिज्य) तर्फ संगिता सुवेदी उम्मेदवार बनेका हुन् ।

महासचिव पदका लागि मातृका प्रसाद सापकोटा, उप–महासचिवमा दिपक बहादुर भण्डारी, कोषाध्यक्षमा सिता कार्की, सह–कोषाध्यक्ष पदको लागि हरि शरण के.सी. उम्मेदवार रहेका छन् । यस्तै खुल्ला सदस्य तर्फ तेज बहादुर अधिकारी, भूमिराज कँडेल, राकेश विष्ट, होम बहादुर रावत, यज्ञ प्रसाद सुवेदी, दिपक ओली, यादव राज बस्याल र नविन कुमार शाही रहेका छन् । यसैगरी महिला सदस्य तर्फ पवित्रा ढकाल र सर्मिला मल्ल र वस्तुगत तर्फ भरत खत्री र दीप नारायण श्रेष्ठ रहेका छन् ।

कोहलपुर उद्योग वाणिज्य संघले शनिबार सम्म म्याद रहेको नयाँ दर्ता नविकरणमा कुल ३ हजार ४ सय ६४ जना व्यवसायीहरुको फर्म दर्ताका लागि निवेदन पेस भएको जनाएको छ । पुराना र नयाँ गरी अन्तिम मतदाता नामावली १२ गते प्रकाशन गर्ने तयारी गरिएको छ । यसअघि कोहलपुर उद्योग वाणिज्य संघमा १ हजार ४ सय ५७ जना उम्मेदवार थिए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ११, २०७७     8:54:43 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *