सरकार भ्रष्टाचारमा चुर्लुम्मः थानी



नेपालगन्ज ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप लगाएका छन् । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै अब नेपालमा कम्युनिष्टहरु जनताबाट नांगिने उनले दाबी गरे । ‘नेकपा नेतृत्वको सरकारले दुई तिहाईको दम्भमा गरेको भ्रष्टाचारका विषयमा नेपाली काँग्रेस चुप लागेर बस्दैन’ नेपालगन्जमा सोमबार काँग्रेस बाँकेले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थानीले भने । कम्युनिष्टको घर झगडाका कारण प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको समेत उनले बताएका थिए ।

पूर्व मन्त्री समेत रहेका थानीले संविधान र लोकतन्त्रको हुर्मत लिन खोज्ने प्रधानमन्त्री ओली पतनको बाटोमा अग्रसर भएको टिप्पणी गरे । संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेस सडकमा आउनुपरेको उनको भनाई रहेको थियो । निरंकुुशता लाद्न खोजिए काँग्रेसका नेता कार्यकर्ता टाउकोमा कफ्फन बाँधेर लड्न तयार रहेको भन्दै उनले प्रधानमन्त्री ओलीले दोहोरो कुरा गरिरहेको आरोप लगाए । ‘एकातिर आफ्नै पार्टीका मान्छेले काम गर्न नदिएर प्रतिनिधिसभा विघटन गरेको हुँ भन्ने अनि अर्कोतिर यो सरकारले इतिहासमै सबैभन्दा राम्रो काम गरेको छ भनेर गफ दिने ?’ नेता थानीले प्रश्न गरे ।

संविधानमा नभएको अधिकार प्रयोग गरेका प्रधानमन्त्री ओलीको भनाईमा तालमेल नमिलेको भन्दै पुर्वमन्त्री समेत रहेको थानीले प्रधानमन्त्रीले जनतालाई ढाँटेको आरोप लगाए । सर्वोच्च अदालतमा विचारधीन रहेको संसद विघटनको विषयमा अदालतबाट स्वतन्त्र रुपमा ब्याख्खा भई निर्णय हुने कुरामा काँग्रेसले विश्वास लिएको उनले बताए । तोकिएकै मिति बैशाखमा निर्वाचन नभए काँग्रेस प्रधानमन्त्री ओलीलाई ठेगान लगाउन अघि सर्ने उनले चेतावनी समेत दिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेको विरोधमा आयोजित विरोध सभामा काँग्रेस बाँके सभापति किरण कोइराला, पूर्व पार्टी सभापति युवराज शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ लगायतले बोलेका थिए । विरोध सभाअघि औद्योगिक क्षेत्र अगाडि रहेको पार्टी कार्यालयबाट विरोध जुलुस समेत निस्किएको थियो । उक्त विरोध जुलुस विपी चोक हुँदै गणेशमान चोकमा पुगेर विरोध सभामा परिणत भएको हो । सोमबार काँग्रेसले बाँकेसहित देशभर नै संसद विघटनको विरोधमा विरोध सभा गरेको थियो । सबै जिल्लामा भएका विरोध सभालाई काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ४ गते मंगलबार