नेपालगन्ज ।
आगामी फागुन ७ र ८ गते नेपालगन्ज फोटो फेस्टिवल हुने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा बाँकेको नेपालगन्जमा फोटो फेस्टिवल हुने भएको हो । फेस्टिवलमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा संचारकर्मी र सर्वसाधारणले खिचेका फोटोहरु समावेश गरिने आयोजक अन्तरालले जानकारी दिएको छ ।
‘पछिल्लो समय, फेसबुक, इन्स्टाग्राम जस्ता सोसल मिडिया र स्मार्ट फोनका कारण पनि फोटोग्राफी क्रेज बढ्दै गएकोले सर्वसाधारणलाई पनि फेस्टिवलमा सहभागी गराउन लागिएको हो’ आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘इच्छुकले माघ मसान्त भित्र फोटो पठाइसक्नुपर्नेछ ।’
५ वटा विधामा खुला प्रतिस्पर्धा हुने बताउँदै उनले हरेक विधामा उत्कृष्ट एउटा फोटो पुरस्कृत हुने जानकारी दिए । सबै विधाबाट सर्वोत्कृष्ट फोटोलाई वर्ष फोटो उपाधिसहित पुरस्कृत गरिनेछ । समाचार र दैनिक जीवन, संस्कृति र पर्यटन, वन्यजन्तु र प्रकृति, खेलकुद तथा नेपाल स्माइल (जस अन्तर्गत खुसी, उत्साह र उमंग झल्किने फोटो) गरी ५ विधामा प्रतिस्पर्धा गराइनेछ । फोटो कथा विधामा भने प्रतिस्पर्धा हुने छैन । यस विधामा कम्तीमा ५ देखी १२ वटा सम्म फोटो पठाउनु पर्नेछ ।
फोटो फेस्टिवलका लागि पछिल्लो २ वर्ष यता खिचिएका फोटोहरु इमेलमार्फत पठाउन सकिने अन्तरालले जनाएको छ । प्रतिस्पर्धामा छनोट भएका १ सय ५० बढी फोटोहरु प्रदर्शनीमा राखिनेछ । फेस्टिवलका अवसरमा ३५ जना सहभागीका लागि २ दिने फोटोग्राफी कार्यशाला आयोजना गरिने प्रमुख कार्यकारी शाहले जानकारी दिए ।
राजधानी काठमाडौंबाट आउने वरिष्ठ फोटो पत्रकारहरुले उक्त कार्यशालामा सहजीकरण गर्नेछन् । यसैगरी फेस्टिवलकै अवसरमा प्रतिस्पर्धामा छनोट भएका फोटो खिच्ने फोटोग्राफर र सहभागीबीच उक्त फोटो खिच्दाका रोमाञ्चकारी अनुभव बारेमा अन्तरक्रिया आयोजना गरिनेछ ।
फेस्टिवलको अवसरमा स्ट्रीट फोटो प्रदर्शनी, मोबाइल फोटो प्रतिस्पर्धा, वेस्ट सेल्फी लगायतका आर्कषणहरु थपिएको आयोजकले जनाएको छ । यस वर्षदेखि नेपालगन्ज बाहिर पनि फोटो प्रदर्शनी यात्रा हुने आयोजक अन्तरालका शाहले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशमा अर्को एक ठाउँमा, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको १–१ स्थानमा फोटो प्रदर्शनी यात्रा हुनेछ ।










प्रतिक्रिया दिनुहोस्