कोहलपुर :
बाँकेमा ६८ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ ।‘कोरोना महामारीमा हाम्रो संयमता,समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता’ भन्ने मुल नारा सहित दिवस मनाइएको हो । दिवसको अवसरमा बाँकेका विभिन्न पालिकामा जनचेनतामुलक कार्यक्रमको आयोजना गरिएको थियो । बाँकेका कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले समेत कार्यक्रममो आयोजना गरेका थिए । यस्तै दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा रहेका कुष्ठरोगीहरुको तथ्यांक सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहका अनुसार बाँकेमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा कुल ५३ जना कुष्ठरोगीहरु सम्पर्कमा छन् । उनले जिल्लाका आठ स्थानीय तह मध्ये सबै भन्दा बढी नेपालगञ्ज उपमहानगरमा १४ जना रहेको जानकारी दिए । बाँकेमा रोगको संक्रमणदर भने जानकारी गाउँपालिकामा सबै भन्दा बढी रहेको छ ।
तथ्यांकका अनुसार जानकीमा प्रति एक हजार मानिसमा चार जनामा कुष्ठरोगको समस्या रहेको छ । शाहले कोहलपुर नगरपालिका, बैजनाथ र डुडुवा गाउँपालिकामा समान ५÷५ जना कुष्ठरोगीका बिरामी रहेको बताए । यस्तै जानकीमा १०, नरैनापुरमा ७ र खजुरामा ६ जना रहेका छन् । जिल्लाको अहिलेसम्मको तथ्यांक पुस मसान्तसम्मको रहेको उनले जानकारी दिए ।बाँकेमा अघिल्लो आर्थिक वर्षमा ३३ जना कुष्ठरोगी रहेको उनको भनाइ थियो ।
कोहलपुरमा अन्तरक्रिया
दिवसको अवसरमा कोहलपुर नगरपालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । दिवसको अवसरमा रोगको कारण, समस्या बच्ने उपाय तथा समाधानका विषयमा नगरपालिकाका चार स्थानमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलका अनुसार कोहलपुर १० स्थित त्रिभूवन नमूना मावि, शमशेरगञ्ज स्वास्थ्य चौकी, कोहलपुर नगरपालिकाको वडा नम्बर ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कोहलपुरमा कुल २१ जना कुष्ठरोगाी रहेका छन् ।
५ जना नयाँ र १६ जना पुराना कुष्ठरोगीहरु रहेको उनको भनाइ थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रति हजारमा १ जना भन्दा कम संक्रमणदर रहेमा राम्रो मानिन्छ । तर कोहलपुर नगरपालिकामा संक्रमणदर २.२ रहेको छ । यो भनेको जोखिमको अवस्था हो । उनले कोहलपुरमा व्यापक जनचेनता आवश्यक रहेकोमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्