चक्रपथ निर्माण अलपत्र



रकम अभावमा बाँसगढी नगरपालिकाको नगरबासीलाई सडक यातायातमा सहज पहुँच पु¥याएर गाउँलाई नगरसम्म जोड्नका लागि नगरमा चक्रपथ निर्माण गर्ने महत्वकांक्षी योजना रोकिएको हो । नगरको योजनामा चक्रपथको लम्बाई ४२ किलोमिटर रहेको छ । शहरी विकास मन्त्रालयसँग ४२ किलोमिटर सडकलाई ३ खण्डमा बाँडेर निर्माण गर्ने सहमति भएको थियो । सोही अनुसार अहिले बजेट प्राप्त नहुँदा योजना अलपत्र परेको छ ।


कोहलपुर ।

नगरबासीलाई सडक यातायातमा सहज पहुँच पु¥याएर गाउँलाई नगरसम्म जोड्नका लागि नगरमा चक्रपथ निर्माण गर्ने महत्वकांक्षी योजना बाँसगढी नगरपालिकाले ल्याएको थियो । योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएलगत्तै पालिकाले चक्रपथ निमार्णको काम सुरु प¥यो । तर चक्रपथ निर्माणको कामले गति लिन नपाउँदै अहिले काममा बाधा उत्पन्न भएको छ । नगरलाई सडक सञ्जालले घेर्ने नगरको योजना अहिले अलपत्र परेको छ । चक्रपथ निर्माणको गुरु योजना अनुसार तयार पारिएको डिपिआर बमोजिम बजेट प्राप्त नहुँदा योजना अलपत्र परेको हो । नगरमा चक्रपथ निर्माणको गुरु योजना शहरी विकास मन्त्रालयले तयार पारेको थियो ।

पालिकाले शहरी विकास मन्त्रालयसँगको साझेदारीमा चक्रपथ निर्माण गर्ने काम अघि बढाएको थियो । तर अहिले शहरी विकास मन्त्रालयले नै सम्झौता अनुसारको रकम नदिँदा नगरमा चक्रपथको योजना हात्ती आयो हात्ती आयो फुस्सा भने झै भएको छ । नगरमा चक्रपथ बन्ने भएपछि नगरबासी निकै खुशी भएका थिए । तर अहिले चक्रपथ निर्माणको काम बिचमै रोकिएपछि नगरबासी निराश भएका छन् । स्थानीय विवेक गौतमले पालिकाको नै महत्वकांक्षी योजना अलपत्र पर्नु दुखको कुरा भएको बताए । ‘बाँसगढीको विकासमा ठूलो टेवा पु¥याउने यो एउटा महत्वकांक्षी योजना समेत हो’ उनले भने, ‘रकम अभावले नै यती ठूलो योजना रोकिनु बाँसगढीको लागि दुर्भाग्य हुन्छ ।’

नगरमा चक्रपथ निर्माण गरेर नगरबासीलाई सडक यातायातमा सुरक्षित पहुँच पु¥याई किसानले उत्पादन गरेका बस्तु सजिलै बजार सम्म पु¥याएर उनीहरुको जीवनस्तर सुधार्ने नगरपालिकाको योजना थियो । नगरको योजनामा चक्रपथको लम्बाई ४२ किलोमिटर छ । शहरी विकास मन्त्रालयसँग ४२ किलो मिटर सडकलाई ३ खण्डमा बडेर निर्माण गर्ने सहमति भएको थियो । जसमा १ खण्ड नगरपालिकाले र बाँकी २ खण्ड शहरी विकास मन्त्रालयले निर्माण गर्ने सम्झौता भएको थियो ।

सहमती अनुसार नगरपालिकाले नगरको उत्तर भकारी भन्ने स्थानबाट चक्रपथ निर्माण कार्य प्रारम्भ गरेको थियो । उक्त स्थानमा हालसम्म नगरपालिकाले चक्रपथको करिव ८ सय मिटर मात्र निर्माण सम्पन्न गरेको छ । शहरी विकास मन्त्रालयले नगरपालिकाको वडा नं ९ बाट निर्माण सुरु गरेको थियो । तर अहिले दुवै खण्डको काम रोकिएको छ ।

शहरी विकास मन्त्रालयले नगरमा ठूलो योजना छनौट गर्न भने पछि बाँसगढी नगरपालिकाले चक्रपथको योजना छनौट गरेको थियो । काम सुरु भए लगत्तै अहिले शहरी विकास मन्त्रालयले नै आवश्यक बजेट नदिँदा चक्रपथ निर्माणको योजना बिचमै अलपत्र परेको छ । चक्रपथ निर्माणको योजना सुचारु गर्न नगरपालिकाले यतीखेर शहरी विकास मन्त्रालयसँग हारगुहार गरिरहेको छ । शहरी विकास मन्त्रालयले भने एशियाली विकास बैँकले दिने सहयोग रोकिएकोले आवश्यक बजेट निकासा गर्न नसकेको बताउँदै आएको छ ।

चक्रपथ निर्माणको कार्यलाई अघि बढाउन शहरी विकास मन्त्रालयसँग आफुहरु नियमित समन्वय र सम्पर्कमा रहेको बाँसगढी नगरपालिकाका नगरप्रमुख शालिकराम अधिकारीले बताए । ‘बजेट अभावमा महत्वकांक्षी योजनाको काम रोकिन पुगेको छ’ उनले भने, ‘चक्रपथ निर्माणको कार्यलाई अघि बढाउन शहरी विकास मन्त्रालयसँग आफुहरु नियमित समन्वय र सम्पर्कमा रहेका छौं ।’ चक्रपथ निर्माणको योजना नगरपालिका र स्थानियबासीले स्थानिय स्तरमा उत्पादन गरेको बस्तु तथा सामाग्री बजारसम्म सहजरुपमा पु¥याउनका लागि महत्वपूर्ण मार्गको रुपमा रहने नगर उप–प्रमुख सुष्मा चौधरीले बताइन् । एशियाली विकास बैँकबाट सहयोग पाउँने भएपछि शहरी विकास मन्त्रालयले नै बाँसगढी नगरपालिकालाई चक्रपथ निर्माणको योजना छनौट गर्न उक्साएको थियो । अहिले एशियाली विकास बैँकले सहयोग रोकेको भन्दै शहरी विकास मन्त्रालय तर्कन थालेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ३ गते शुक्रबार