कोहलपुरमा दुग्धजन्य पदार्थको मूल्य समायोजन (कसको कती सूचीसहित)



कोहलपुर ।

कोहलपुर डेरी एशोशियसन कोहलपुर, बाँकेले दुग्ध तथा दुग्ध जन्य पदार्थको मूल्य समायोजन गरेको छ ।

नेपाल सरकारको निर्णय अनुसार जिल्लाभर झैँ कोहलपुर डेरी एशोसियसनले समेत सोमबार आजदेखि लागू हुने गरी कूल १४ प्रकारका दुध तथा दुग्धजन्य पदार्थको मूल्य समायोजन गरिएको हो ।

यसअघि फागुन १९ गते नेपाल सरकारले देशभर दुध तथा दुग्धजन्य पदार्थको मूल्य समायोजना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई आधार मानेर बाँकेमा समेत दुध तथा दुग्धजन्य पदार्थको मूल्य वृृद्धि भइसकेको छ । बाँकेमा प्रतिलिटर दुधमा १५ रुपैयाँ वृद्धि भएको छ । बाँकेमा शुक्रबारदेखि नयाँ मूल्य लागू गरिएको थियो । कोहलपुर क्षेत्रमा रहेको सम्पूर्ण सरोकारवालाहरुसँग छलफल गरेर मूल्य समायोजन गरिएको कोहलपुर डेरी एशोशियसन कोहलपुर, बाँकेले जनाएको छ ।

समायोजन गरिएको मूल्य अनुसार प्रति लिटर होल दुधको मूल्य एक सय,स्टेन्डर दुधको मूल्य ९६ रुपैयाँ, सादा दही प्रति लिटर १४० रुपैयाँ, मिठा दही प्रति लिटर १६० र मिठा दही १८० रुपैयाँ समायोजन गरिएको महासचिव सन्तोष पौडेलले बताए ।

उनका अनुसार दही बट्टा २५० एमएलको ५० रुपैयाँ, दही कप प्रति केजी ८५० रुपैयाँ, पनिर प्रतिलिटर ८ सय ५० रुपैयाँ,ध्यू प्रति केजी १ हजार ४ सय रुपैयाँ,क्रिम प्रति केजी ८ सय रुपैयाँ र खुवा प्रति केजी ९ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै छुर्पी प्रति केजी १ हजार २ सय, नौनी प्रति केजी १ हजार १ सय ५० रुपैयाँ, बदाम मिल्क २५० एमएलको ८० रुपैयाँ र मोही प्रतिलिटर ७० रुपैयाँ मूल्य तोकिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार