19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बीबीसीको प्रभावशाली ‘सय महिला–२०२०’ बनिन्, पशुपतिमा ‘बेवारिसे लास जलाउने’ सपना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १०, २०७७  

शुभाकर विश्वकर्मा, कोहलपुर ।

नेपालको म्याग्दीकी १९ वर्षीया सपना रोका मगर संसारकी १ सय प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बेलायती मिडिया ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन(बीबीसी)ले प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको प्रभावशाली सय महिलाको सूचिमा पशुपतिमा बेवारिसे लास जलाउने मगर परेकी हुन् । यो सूचिमा पर्ने उनी सबैभन्दा कम उमेरकी अभियान्ता समेत हुन् । बीबीसी हन्ड्रेड विमिन २०२० मा संसारभरका १ सय जना महिला मध्ये नेपालबाट १९ वर्षीया सपना रोका मगर पनि परेको सूचि सार्वजनिक गरिएको हो ।

मगर विगत तीन वर्षयता देशभरका बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् । उनले बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र मार्फत बेवारिसे लास जलाउने काम गरिरहेकी छन् । अहिले पनि कोभिड–१९ महामारीको समयमा भोकमरीमा परेका नागरिकको सेवामा उल्लेख्य भूमिका निर्वाह गरेको बीबीसीले जनाएको छ । यता सपनाले पनि बीबीसीले सार्वजनिक गरेको सूचिमा आफू परेपछि गौरवान्वित भएको बताएकी छन् ।

उनका अनुसार यसले आफूलाई आगामी दिनमा पनि समाजसेवामा लागिरहन प्रेरणा मिलेको छ । मिसन टुडेसँग कुराकानी गर्दै उनले अहिलेसम्मको यात्रामा आफूलाई साथ दिने सबैलाई धन्यावाद समेत प्रकट गरिन् । उनले भनिन्, ‘मलाई निकै खुसी लागेको छ । यो समग्र नेपालको गौरवको कुरा हो । म आगामी दिनमा पनि यही क्षेत्रमा सक्रिय रहने छु ।’ अहिलेसम्म उनले ३ सय भन्दा बढी बेवारिसे लास जलाइसकेको बताइन् । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय अध्यक्ष समेत रहेका समाजसेवी विनयजंग बस्नेतसँग मिलेर उनले उक्त कार्य गर्दै आइरहेकी छन् ।

उनी उक्त संस्थाको संस्थापक समेत निर्देशक समेत हुन् ‘विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ बीबीसीसँग उनले भनेकी छन् । सपना समेत सम्मिलित उक्त केन्द्रले अहिले देशका साढे दुई दर्जन बढी जिल्लामा बेवारिसे लास जलाउनेदेखि सडक मानवहरुको सेवा गर्दै आएको छ । केन्द्रको शाखा मार्फत बाँके जिल्लामा पनि सडक मानवहरुको उद्धार, बेवारिसे लास जलाउने काम उनीहरुले गर्दै आएका छन् ।

यस्तै बेवारिसे नागरिकहरुको शव व्यवस्थापनको लागि केन्द्रको अगुवाईमा नेपालगञ्जमा ‘बा आमा घर आश्रम’ समेत सञ्चालन भइरहेको छ । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र बाँकेका अध्यक्ष पुजा विश्वकर्माले बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्नको लागि २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको जानकारी दिइन् । उनका अनुसार अहिलेसम्म केन्द्रले १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिसकेको छ । उनले अहिले पनि भेरी अस्पतालमा ३ जनाको उपचार भइरहेको बताइन् । केन्द्रकै अगुवाईमा ४ जनाको शव व्यवस्थापन गरिसकिएको अध्यक्ष विश्वकर्माको भनाइ छ ।

गत असोज महिनामा केन्द्रको शाखा बाँकेमा विस्तार गरिएको थियो । अहिले केन्द्रले सक्रिय रुपमा बेवारिसेहरुको व्यवस्थापन कार्य गर्दै आएको छ । बीबीसीले सन् २०१३ देखि प्रभावशाली महिलाको सूचि सार्वजनिक गर्दै आएको छ । यो सूचिमा सन् २०१७ देखि लगातार नेपालका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका महिलाहरु पर्दै आएका छन् । यो सूचिमा नेपालबाट सन २०१७ मा इन्दिरा राना मगर, २०१८ मा उमादेवी बादी र २०१९ बोनिता शर्मा समेत परेका थिए । ।

नेपालको तर्फ २०२० मा यो सूचिमा पर्ने सपना रोका मगर अहिलेसम्म कै कम उमेरकी तथा चौथो नेपाली प्रभावशाली महिला हुन् । सपनासँगै यस वर्ष बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति रहेका छन् ।

प्रकाशित मितिः बुधबार, मंसिर १०, २०७७     12:50:06 PM  |