सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना परीक्षण कार्य घटेको छ । कन्ट्रयाक्ट ट्रेसिङका माध्यमबाट पीसीआर परीक्षण कार्य रोकिएसँगै परीक्षण समेत घटेको हो ।
दसैंपछि बुधबारसम्म कर्णालीका विभिन्न प्रयोगशालाबाट २ हजार ९ सय १६ जनाको मात्र स्वाब परीक्षण भएको तथ्यांक रहेको छ । दशैंको टिकाको भोलिपल्ट कात्तिक ११ गते कर्णालीका चारवटै प्रयोगशालामा एक जनाको पनि स्वाब परीक्षण भएको थिएन ।
कात्तिक ९ र १२ गते पनि दैलेखस्थित प्रयोगशालाबाहेक अन्यमा परीक्षण शून्य रह्यो । कात्तिक १६ गते पनि दैलेख र रुकुमबाहेक अन्य प्रयोगशालामा परीक्षण नभएको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गत आइतबार पनि कर्णालीका ३ वटा प्रयोगशालामा परीक्षण भएन । चिकित्सकको सिफारिसमा स्वाब परीक्षण हुन थालेपछि कोरोना संक्रमितको संख्यामा पनि कमी देखिन थालेको छ ।
कर्णालीमा सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा स्वाब परीक्षण हुने गरेको छ ।
सरकारले शुल्क तिर्नुपर्ने नीति ल्याएपछि परीक्षण दर घटेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी
दिए । उनका अनुसार स्वाब परीक्षणका लागि व्यक्तिहरू पनि कम आउने गरेका छन् ।
‘पहिला समुदायमै गएर स्वाब संकलन गथ्र्यौं,’ उनले भने, ‘सरकारले अहिले डाक्टरको सिफारिसपछि मात्रै स्वाब परीक्षण गर्ने भनेकाले यो काम पनि प्रभावित भयो ।’ स्वाब संकलन कम भएका कारण परीक्षण पनि घटेको निर्देशनालयका ल्याब इन्चार्ज ओम आचार्यले बताए ।
उनले प्रदेश अस्पतालको प्रयोगशालामा थोरै परीक्षण गर्दा खर्च बढी हुने भएकाले पनि कुनै दिन परीक्षण नै नगरिएको जानकारी दिए । कर्णालीमा सोमबारसम्म ८९ हजार ९ सय ३५ स्वाब परीक्षण गरिएको छ ।
सबैभन्दा धेरै सुर्खेतमा ४६ हजार ३ सय १६, जुम्लामा २७ हजार ३ सय १८, रुकुम पश्चिममा ९ हजार ६ सय २९ र दैलेखमा ६ हजार ५ सय ८३ स्वाब परीक्षण भएको छ ।









प्रतिक्रिया दिनुहोस्