कोहलपुरमा संघीयता बिरुद्ध नाराबाजी, हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न माग



कोहलपुर ।

बाँकेको कोहलपुरमा संघीयता बिरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ । देश र जनताको सर्वोपरी हितका लागि राजा आवश्यक रहेको भन्दै शनिबार संघीयता बिरोधी नारा लागेको हो । कोहलपुरमा राजतन्त्र र हिन्दुसंस्थाको आवश्यकता रहेको भन्दै राजा समर्थक युवाहरुले मोटरसाईकल ¥यालीसहित प्रदर्शन गरेका हुन् ।

‘हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको लागि सम्पूर्ण राष्ट्रभक्ति युवा एक छौं’ भन्ने मुख्य नारासहित प्रदर्शन गरिएको थियो । स्वतन्त्र राष्ट्रवादी अभियानको आयोजनामा कोहलपुरमा पहिलोपटक संघीयताका बिरुद्ध नाराबाजी भएको हो । कोहलपुरको चौराहबाट सुरु भएको ¥यालीमा प्रदर्शनकारीले राष्ट्रिय झण्डासहित पूर्व राजा–रानी (ज्ञानेन्द्र र कोमल शाह)को तस्वीर अंकित टिसर्ट लगाएका थिए ।

‘राजा आउ देश बजाउ, संघीयता खारेज गर, मेची, महाकाली हल्ला छ, राजा ल्याउने सल्लाह छ । २०४७ को संविधान लागू गर’ लगायतका राजतन्त्रका पक्षमा नारा लगाएका थिए । चौराहबाट सुरु गरिएको मोटरसाइकल ¥याली कोहलपुर–नेपालगञ्ज सडकको न्युरोड, एनटिभि रोड पिपलचौतारा हुँदै पुनःचौराहामा आएर कोण सभामा परिणत भएको थियो । उक्त अवसरमा बोल्दै अभियान्ता विजय काफ्ले राजतन्त्र, हिन्दुसंस्था पुनःस्थापनाको लागि आफूहरु सक्रिय भएको बताएका थिए । यदि आन्दोलनको माध्यमबाट राजतन्त्र फर्किएन भने देशभक्ति यूवाहरुले राजालाई आफै पुनः शासन गर्न फर्काउने दाबी गरे ।

अहिलेको शासन व्यवस्थाले जनतालाई सुखी दिन नसकेको उनको भनाइ थियो । ‘राजाका पक्षमा अहिले देशभर माहोल बन्दै गएको छ । देशका मुख्य शहरहरुमा यस्ता खालका कार्यक्रम जनस्तरबाटै भइरहेका छन् । जनताले अब निकास चाहेको छ । त्यो भनेको राजतन्त्र नै हो ।’ उनले भने । कार्यक्रममा खासगरी नेपाली काँग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । तिहारपछि नेपालगञ्जमा समेत हिन्दुराज्य र राजसंस्थाको पक्षमा बहृत् मोटरसाइकल ¥याली निकाल्ने तयारी थालिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार