बर्दियाको बाँसगढी तिव्र विकासको गतिमा अगाडि बढिरहेको छ । पुर्व पश्चिम राजमार्गसँगै जोडिएकोले पनि बाँसगढीले ठूलो सभ्भावना बोकेको छ । कुनै पनि स्थानको विकासमा युवाहरुको ठूलो भूमिका हुन्छ । युवा सञ्जाल बाँसगढी आवद्ध रहेर युवाहरुले स्थानीय स्तरमा सामाजिक कामहरु अगाडि बढाइरहेका छन् । कोरोना कहरमा युवा सञ्जालले गरिरहेको काम, बाँसगढीको विकासको लागि युवाहरुको भूमिका लगायतका विषयमा युवा सञ्जाल बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीसँग कृष्ण ओलीले गरेको कुराकानीको सम्पादीत अशं ।
१. कोरोना कहरका बीच बाँसगढी युवा सञ्जालले कसरी काम गरिरहेको छ ?
कोभिड–१९ को कहरले विश्व अझैं भयावह अवस्थामा छ । विश्व अर्थतत्र लिड गर्ने ठूला ठूला शक्ति राष्ट्रहरु अझैं समस्याग्रस्त छन् । हाम्रो देश पनि यसबाट अछुतो रहन सकेन । कोभिड– १९ को कहर सुरु हुन थालेपछि नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट लकडाउन सुरु ग¥यो । केहि दिनबाटैै नेपाली जनताको दैनिकीमा अठ्यारो पर्दै आयो । नेपाल भित्रै रोजगारीका शिलशिलामा विभिन्न स्थानमा गएका श्रमिकहरु आफ्नो घर फर्कने सुरु गरेपछि हामी स्वयंयम्सेवक भएर नगरका विभिन्न स्थानहरुमा खटिएका थियौं । बर्दिया प्रवेश गर्ने नाकामा यस क्षेत्रका स्थानिय सरकार, प्रशासन, रेडक्रस लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, समाजसेवि, व्यवसायी, स्वय्मंसेवी युवा, अभियान्ताहरुसँग हातेमालो घर फर्किने श्रमिकहरुको व्यवस्थापनमा खटियौं । लकडाउन अन्त्य भएसँगै हामीले संस्थाको आधिकारीकताका लागि जिल्ला प्रशासन कार्यालय बर्दियामा दर्ता गरेर सामाजिक कामहरु अगाडि बढाएका छौं । कोरोनाको जोखिम अझै कम नभएकोले स्वास्थ्य मापदण्ड अपनाएर कामहरु गर्दैछौं ।
२. कोरोना रोकथाम तथा नियन्त्रणको लागि युवा सञ्जालमा आबद्ध युवाहरु कसरी परिचालन भएका छन् ?
मैले यस अघि पनि जोडेको थिए । विश्व महामारीको अवस्थासँगै हामि पनि त्यतिकै भयावहमा स्थितीमा छौं । हामी सबैको दैनिकी अस्तव्यस्त भएको छ । यसका बाबजुत पनि हामि युवाहरु समाज प्रति उत्तरदायि हुन जरुरी छ । युवा सञ्जाल पनि यस कोभिड–१९ नियन्त्रण तथा न्यूनिकरणमा यसको सुरुवातीदेखी निरन्तर विभिन्न ढंगबाट सञ्चालित छौं । जस्तै बर्दिया जिल्ला प्रवेश नाकामा खटिने होस्, धेरै जसो वडाहरुमा वडा स्तरीय विपत व्यवस्थापन समितिलाई नजिकबाट सघाएका छौं । कोभिड–१९ न्यूनिकरण तथा रोकथाममा स्थानिय सरकालाई सघाउँदै सामाजिक जनचेतना फैलाउने उद्देश्य लिएर केहि साथिहरुलाई घरदैलो कार्यक्रम गर्दै हुनुहुन्छ । यसरी आवश्यकता अनुसारको जिम्मेवारी प्रदान गरी सञ्जालका साथिहरुलाई परिचालन गरिएको छ ।
३. तपाईले भनेजस्तै महामारी रोकथाम र नियन्त्रणमा युवाहरुले सम्बन्धित निकायसँग हातेमालो त गरेका छन् ? तर यस्तो बेला युवाहरुले अझै हातेमालो गरेर अगाडि बढ्नुपर्ने होइन र ?
हो, यो महामारी सबैको महामारी हो । कुनै एक पक्ष वा कसैका लागि मात्र हैन । त्यसैले यो महामारीलाई रोकथाम तथा न्यूनिकरणका लागि सबै तह तप्का सञ्चालित हुनु जरुरी छ । यस भयावह अवस्थामा हरेक युवाहरुले आफ्नो सिमित श्रोत साधनको प्रयोग गरी काम गरिरहेका छन् । प्रर्याप्त श्रोतसाधन परिचालन गर्ने स्थानिय निकायले समान व्यवहार गरि युवाहरुलाई परिचालन गर्नुपर्छ । नाकि कुनै दल, गुट वा व्यक्ति विशेषसँग जोडिएर गर्नु हुँदैन । विगतमा त्यस्ता केही गतिविधीहरु पनि भए । यस्ता गतिविधी भए भने तपाईले भनेजस्तै हातेमालोको सम्भव हुँदैन । त्यसैले हामीले पटक–पटक भनेका छौं । साझा रुपमा सबैलाई अवसर र जिम्मेवारी दिनु पर्दछ । कोभिड–१९ मा सबै युवा तथा युवाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु हातेमालो गर्दै काम गर्नुपर्छ ।
४. बाँसगढीको विकासको लागि हालेमालो गर्नुपर्ने युवाहरु विभिन्न नाममा एकजुट हुन सकेका छैनन् ? यसरी त तपाईले भनेजस्तो बाँसगढीको विकासमा कसरी युवाहरु एकजुट होलान् र ?
हो, हजुरले भने जस्तै समग्र बाँसगढीको विकासमा युवाहरु बीच एकता हुनु अत्यन्त जरुरी छ । दलिय व्यवस्थामा स्वभाविक रुपमा कुनै दलसँग आस्था रहन सक्छ । दलसँग सक्रिय सहभागि हुन पनि सक्छ । तर उसले दल बाहेकका अन्य सामाजिक संस्थाहरुमा काम गर्दा कसरी काम गरिरहको छ भन्ने कुरा मूल्याङ्कन गर्न जरुरी छ । युवाहरु अली फरक ढंगले सोच्न सक्ने र काम गर्ने हुनु पर्दछ । युवा संस्थाहरु धेरै निर्माण हुनुपनि कुनै अनौठो र अस्वभाविक भने होईन । संस्था दर्ता ऐन २०३४ अन्तर्गत विभिन्न खाले युवा संस्थाहरु निर्माण हुन सक्ने छन् । यस बाँसगढी नगरका हरेक विकासमा युवाहरुको एकता हुनेछ । सम्भव पनि छ । परिवर्तन आफैबाट सुरु गर्नुपर्छ । म निरन्तर प्रयासरत छु र हजुरकै लोकप्रिय पत्रिका मार्फत युवाहरुको साझा संस्था युवा सञ्जाल बाँसगढीमा सबैजना जोडिनका लागि सम्पूर्ण युवा साथिहरुलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु ।
५. बाँसगढी युवा सञ्जालका भावी योजनाहरु के–के रहेका छन् ?
संस्थाका नियमित आफ्ना गतिविधिहरु त रहने नै छन् । साथमा दर्ता भए पश्चात समुदायस्तरको आवश्यकतालाई मध्यनजर गर्दै आम रुपमा समाजका हरेक क्षेत्रमा सरोकार राख्ने संघ, संस्था, दल, निकाय, तह, समाजिक अभियान्ताहरुसँग छलफल व्यापक फराकिलो ढंगबाट सुझाव तथा परामर्श लिने छौं । सोही परामर्श र सुझाव अनुरुप हामी बलियो योजनाहरु निर्माण गर्दै अगाडी बढ्दै छौं । अहिले कोभिड–१९ को रोकथाम तथा न्यूनिकरणका लागि सामाजिक सचेतना फैलाउने काम भइरहेको छ । ‘हुनेले दिएर जाँऔं, नहुनेले आएर लैजाऔं’ भन्ने नारासहित मास्क÷फुड बैंकको अभियान सञ्चालन गरेका छन् । यो अभियान अन्तरर्गत नगरका सबै वडामा साँझ बिहानको छाक टार्न समस्या परेकाहरुलाई केही भएपनि राहत दिएका छौं । चोक चोकबाट निशुल्क रुपमा मानिसहरुलाई मास्क वितरण भइरहेको छ । हामीले सुरुवात गरेको यो अभियानमा हातेमालो गर्न, सहयोग र सहकार्य गर्न सबैमा हार्दिक अनुरोध गर्न चाहान्छु ।
६. समृद्ध बाँसगढीको लागि स्थानीय सरकारले के गर्नुपर्ला ?
तपाईले यो अत्यन्तै जिम्मेवार प्रश्न गर्नु भयो । समृद्ध बाँसगढी निर्माणमा स्थानिय सरकार अत्यन्तै जिम्मेवार रहनुपर्दछ । सँगसँगै नागरिक तहबाट पनि उत्तरदायित्व बहन हुन जरुरी छ । देश समृद्धको पहिलो आधार राजनिति नै हो । अब हाम्रो वर्तमान राजनिती कस्तो हुँदै छ त भन्ने कुरा महत्वपूर्ण रहन्छ । भन्ने बेलामा हामिले घरघरमा सिंहदरवार पु¥यायौं । तर यथार्थ यहाँ घर–घरमा सिंह मात्र प्रवेश गरेको अनुभुति आम नागरिकहरुको छ । यसको प्रभाव तल्लो तह स्थानिय निकायसम्म परेको छ । त्यसैले समृद्धि केबल मिठो÷चर्को भाषणले मात्र आउँदैन काम गर्नुप¥यो । स्पस्ट दिगो विकासको भिजन हुनु जरुरी छ । हाम्रो नगर भित्र रहेका विभिन्न कृषि, पर्यटन, पूर्वधार विकासमा रहेको तमाम सम्भावनाहरुको पहिचान गरि विदेशिन लागेका युवाहरुलाई रोक्नुपर्दछ । विदेश भएका युवाहरुलाई स्वदेश ल्याउनुपर्छ र उनीहरुको क्षमता विकास गरि स्वरोजगारी र उद्यमशिलतासँग जोड्नुपर्दछ । साथै शिक्षाको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । अबको आवश्यकता व्यवहारीक प्रविधि मैत्री, माटो सुहाउदो शिक्षा हो । यो अवधारणा यतिबेला केही अगाडी बढ्दै छ । सुशासन कायम गर्दै ईमान्दार भई सबैले आफ्नो काम आफै गर्ने हो भने समृद्ध बाँसगढी आफै बन्न सक्छ ।
७. बाँसगढीका सरोकारका विषयमा स्थानीय सरकारसँग युवा सञ्जालको समन्वय र सहकार्य कस्तो छ ?
पहिलो कुरा त युवा सञ्जाल बाँसगढी स्थानिय सरकारको सहयोगि संस्था नै हो । हामि स्थानिय तहको च्यालेन्जिङ् संस्था हैनांै, तर हामि निरन्तर खबरदारी भने गरिहरन्छौं । त्यसैले सञ्जालको कार्यक्रम र कार्यसम्पादनको आधारमा समन्वय र सहकार्य हुने गरेको छ । जती छ तेती आफैमा प्रर्याप्त भने हैन । हामी पटक–पटक अनुरोध गर्दै आएका छौं, राजनैतिक ट्याक लगाएर भेदभाव गर्ने विभेद पूर्ण व्यवहार नगरियोस् । स्थानिय तह र आम युवाहरु बीच हामि पुलको काम गर्दै छौं । त्यसैले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढिरहेका छौं र आगामी दिनमा समेत सबैसँग सहकार्य गरेर काम गर्नेछौं ।
८. कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्थानीय सरकारको गरेको प्रयासलाई युवा सञ्जालले कसरी लिएको छ ?
कोभिड–१९ को व्यवस्थापन आफैमा ठूलो चुनौती नै हो । त्यती सहज भने हैन । तर पनि यसमा विभिन्न खाले श्रोत परिचालन गर्नुपर्ने भएकाले पारदर्शि ढंगबाट गरिनु पर्छ । यसको सुचनाको हक सबैलाई सहज गराउनु पर्ने हुन्छ । जनप्रतिनिधिहरु आफु बेस्सरी खटीनु भाछ, तर यो भयावहको जोखिम त आम जनता सबैलाई छ नि त्यसैले सबैलाई लिएर हिड्नुपर्ने छ । उहाँलाई सबैको साथ समर्थन छ । सबैलाई जिम्मेवारी बोध गराउने गरी सबैको सुझावलाई मनन् गर्दै काम गर्नुपर्छ । राम्रो प्रयास पनि छन्, केही सुधार गर्नु पर्ने छन् । क्वारेन्टिनमा रहेका र आईसोलेसनमा रहेका कोभिड संक्रमित दाजुभाई दिदिबहिनिहरुको उच्च मनोबल वृद्धि गराई उहाँहरुलाई नियमित आवश्यक सामाग्रीहरुको सहजता बनाउनुपर्ने देखिएको छ । अब लकडाउन र निशेधाज्ञाले मात्र कोभिड–१९ को रोकथाम हुने देखिएन । स्थानिय तहबाट कोरोना भाइरसलाई समुदाय स्तरमा पुग्न नदिनका निम्ती गरिएको प्रयासहरु फितलो भयो । त्यसैले झन् भयावह भयो । जताततै असहज भैरहेको छ । स्वास्थ्यका मापदण्डहरु अनिवार्य पुरा गर्दै व्यवसाय सञ्चालन हुने गरी कोभिड–१९ सँगै जनजीवन जिउन आवश्यक देखिएको छ ।
९. अन्त्यमा बाँसगढीबासीहरु के भन्न चाहानुहुन्छ ?
अन्तमा हजुरको लोकप्रिय पत्रिका मिसन टुडेमार्फत बाँसगढी नगरबासिमा विनम्रतापूर्वक अनुरोध छ । समग्र बाँसगढी विकासमा युवा सञ्जाल बाँसगढी निरन्तर काम गरिरहनेछ । हजुरहरुको सकारात्मक सुझाव सल्लाह साथ र सहयोगको अपेक्षा गरिरहेका छौं । कोरोना कहरका कारण समस्यामा परेका निम्न आय भएकाहरुलाई सहज हुनेगरी ‘हुनेले दिएर जाँऔं, नहुनेले आएर लैजाऔं’ भन्ने नारासहित मास्क÷फुड बैंकको अभियान सुरु गरेका छौं । हामिले सुरु गरेको यो पवित्र अभियानमा हातेमालो गर्न, सहयोग र सहकार्य गर्न पनि सबैमा अनुरोध गर्दछु । कोरोनाको जोखिम नहटेकाले हामी सबै आफै सचेत रहन जरुरी छ । यसको चेन तोड्न अधिकत्तम प्रयास गरा, भौतिक दुरी कायम गरी बसौं, बाहिर निस्किदा अनिवार्य स्वास्थ्य मापदण्ड पूरा गरौं । आफु बाँचौं र अरुलाई पनि बचाऔं । धन्यवाद ।









प्रतिक्रिया दिनुहोस्