भेन्टिलेटर र आईसीयू प्रयोगविहीन, जनशक्ति नहुँदा प्रयोगमा समस्या, विरामी मर्कामा



दाङ ।

यहाँका विभिन्न अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेड प्रयोग विहीन भएका छन् । भेन्टिलेटर र आईसीयू बेड लागि आवश्यक पर्ने जनशक्ति नहुँदा प्रयोग विहीन भएका हुन् । कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी ८ वटा भेन्टिलेटर र १५ वटा आईसीयू बेडहरु रहेका छन् ।

अहिले कोरोना महामारीका बेला समेत दाङका विभिन्न अस्पतालमा रहेका भेन्टिलेटर र आईसीयू बेडहरु सञ्चालनमा आउन सकेका छैनन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा ५ वटा भेन्टिलेटर र ५ वटा आइसीयू बेड रहेको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले बताए । ‘यसको लागि न्यूनतम ३० जना डाक्टरसहित स्वास्थ्यकर्मीको आवश्यक पर्दछ’ उनले भने, ‘जनशक्ति शून्य हुँदा जटिल प्रकृतिका विरामीलाई अन्य सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्छ ।’

अहिले गम्भीर अवस्थाका कोरोना सङ्क्रमित विरामीहरुलाई बेलझुण्डीमा राख्न नसकेर बुटवल रिफर गरिँदै आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि ३ वटा भेन्टिलेटर र १० वटा आईसीयू बेड राखिएको छ तर प्रयोगमा भने आउन सकेका छैनन् । जनशक्ति नहुँदा सेवा दिन नसकेको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

यता प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले भने अब छिट्टै जनशक्तिको व्यवस्था गरेर सञ्चालनमा ल्याइने बताएको छ । निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले दरबन्दीका लागि सम्बन्धित मन्त्रालयमा प्रस्ताव पेश भैसकेको र छिट्टै जनशक्ति उपलब्ध हुने दाबी गरे । पछिल्लो
समय देशभर नै गम्भिर विरामीहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि भेन्टिलेटर र आईसीयू बेडको आवश्यता समेत बढ्दै जान थालेको छ । दाङमा भने भएका भेन्टिलेटर र आईसीयू बेडलाई प्रयोगमा ल्याउन नसकेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ८ गते सोमबार