संघर्षशिल किशोरको कथा, पढाई छोडेर‘नाई’को काम



शुभाकर विश्वकर्मा, कोहलपुर

बाँकेको नेपालगञ्जका सद्धाम सन्सारी कोहलपुरमा एक हेयर कटिङ सेन्टरमा काम गर्छन् । उनको परिवारको जिविकोपार्जनको मुख्य पेसा नै यही हो । विगत दुई वर्ष देखि सद्धाम यही काम गर्दै आएका छन् । सामान्य परिवारमा जन्मिएका उनको सानैदेखि यसैमा रुचि थियो । २ कक्षा पढ्दापढ्दै उनले पढाईलाई ब्रेक लगाएर यो काम थालेका थिए । जुन १८ वर्षीय सद्धाम परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । उनका बुबा इट्टाभट्टामा मजदुरी गर्दछन् । बुढी आमा गृहिणी हुन् भने दुई भाइ बहिनी पढ्छन् । सद्धाम भने पढ्न चाहेनन् बरु पढाई नै छोडेर सानै उमेरदेखि आफ्नो इच्छा पुरा गर्न तर्फ लागे ।

अन्सारी भन्छन्, ‘कपाल काट्नु मेरो पुख्र्यौली पेसा हो । तर बाध्यता भने होइन । बरु रहर हो ।’ यही रहर पुरा गर्नको लागि आफै स्कूल छोडेर यस्तो काम थालेको उनको भनाइ छ । दुई वर्षको अन्तरालमा उनले नेपालगञ्जका राम्रा हेयर कटिङ सेन्टरमा काम गरिसकेका छन् । जहाँ काम गरेपनि उनको कला र कामको चर्चा हुने गरेको छ । सबैले उनको कामको तारिफ गर्छन । यस्ता कुराले आफूलाई झन प्रेरणा दिने उनी बताउँछन् । २ वर्षअघि बैशाख महिनातिरको कुरा हो, विद्यालयबाट दिउँसै भागेर एक सैलुनमा गए । साउजी गाउँकै चिनेजानकै दाइ थिए । उनले ती दाइलाई काम दिन आग्रह गरे । तर तिनले उनको पहिलो आग्रह ठाडै अस्वीकार गरिदिए । ‘मेरो उमेरै सानो थियो । पढ्ने मान्छे यस्तो काम गर्छन्, भन्दै हकारेर पठाए । निराश भएर घर फर्किएँ,’ उनले वगित सम्झिए ।

तर सद्धाम जसरी पनि कपाल काट्ने काम सिक्न चाहन्थे । आफ्नो मन भित्रको गाँठो बुबालाई फुकाए एकदिन । उनको कुरा सुनेपछि उनका बाले आफूले चिनेको साथी कहाँ लिएर गए । जो लामो समय सैलुनमा काम गरेका थिए । अहिले इटाभट्टामा मजदुरी गर्छन् । छोरालाई हेयर कटिङ सिकाइदिन आग्रह गरे । ‘ढुंगा खोज्दा देउता भेटियो’ भने झै भयो उनको लागि । उनले आफूले चाहेकै काम पाए । पहिलो पटकमै कमाल गरिदिए । जीवनमा पहिलो पटक कपाल काटेका ग्राहकले, ‘यति सानो फुच्चे, कति राम्रो काटेको भन्दै’ उनको कामको प्रंशसा गरे । त्यति मात्रै होइन हातमा १० रुपैयाँ टिप्स समेत दिए । त्यहीँ १० रुपैयाँले उनलाई सैलुनमा विशेष आकर्षित गर्यो । त्यसपछि उनको मन चंगा जस्तो भयो ।

मिसन टुुडेसँगको कुराकानीको क्रममा सद्धामले भन्छन्, ‘विस्तारै चर्चा सुरु हुन थाल्यो । केही महिना मै कामको अफर आयो । राम्रा–राम्रा सैलुन व्यवसायीले पनि काम दिन्छु भन्न थाले ।’ बिस्तारै उनी ‘फुच्चे नाई’ का रुपमा चिनिन थाले। पछि उनलाई ‘फुच्चे नाई’ भनेर समेत बोलाउन थालियो। यो उनको पहिचान नै बनेको छ । घुम्रिएको कपाल, ठूला आँखा, गहुँगोरो वर्ण, हाफ भेष्ट र सामान्य पेन्ट र खुट्टामा चप्पल उनको प्राय नछुट्ने हुलिया हो । उनले हालसम्म आधा दर्जन बढी सैलुनमा काम गरिसकेका छन् ।

कोरोनाको कहर शुरु हुनु भन्दा पहिला उनी नेपालगन्जको चलेको सैलुन पसलमा ‘नाइके÷हेड’ थिए, १०–१२ जना कामदारको नेतृत्व गर्थे उनी ।उनले दिनभर १० जनाको कपाल काटे भने ६ जनाको कपाल काटे बराबरको रकम आफू लिन्छन् । यसरी दिनमा कम्तिमा ५ सयदेखि हजार रुपैयाँसम्म कमाई हुने गरेको उनले जानकारी दिए ।काम निरन्तर चलिरहेको थिया । कोरोनाका कारण लकडाउन भएपछि भने उनी काम विहीन भए । गत असार १ गतेदेखि भने कोहलपुरमा काम पुनः सुचारु भएको छ । यतै बसेर पुनः काम गरिरहेका छन् । हजाम उनको पुख्र्यौली पेसा हो । केही वर्षसम्म अर्काको काम गरेर पछि आफ्नै सैलुन खोल्ने अन्सारीको इच्छा छ । यसैबाट उनको परिवारको खर्च चलेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २४ गते शनिबार