पक्की बन्ने शहीद मार्गमा ग्राभेल मात्रै छरियो



सुदीप अधिकारी । बर्दिया ।

असार मसान्त भित्रमा कालोपत्रे भइसक्नु पर्ने सडकमा ठेकेदारले ग्रोभेल मात्र बिछ्याइएको छ । ठेकेदारले समयमै काम सुरु नगर्दा कालोपत्रे भइसक्नु पर्ने शहीद रामदास मार्ग अहिले अलपत्र परेको हो । ठाकुरबाबा नगरपालिकास्थित शहीद रामदास मार्गलाई यही असार मसान्तसम्म कालोपत्रे गरि सक्नु पर्ने नगरपालिका र ठेकेदार कम्पनी बिच ठेक्का सम्झैता भएको थियो । कालोपत्रे भइ सक्नु पर्ने उक्त सडकमा यतीखेर ग्राभेल हालेर बेसको काम मात्र गरिएको छ ।

असार मसान्तसम्म कालोपत्रे गर्ने सम्झौता भएको शहीद रामदास मार्ग ।

यो सडक नगरको वडा नं ३ र ४ लाई राजमार्ग र हुलाकी सडक जोड्ने मुख्य मार्ग हो । यो सडकको लम्बाई करिव ३ किलोमिटर छ । ३ किलोमिटर मध्ये ठेकेदारले सडकको प्रवेशद्धार बसुरिया– सैनवारदेखि करिव ६ सय मिटरसम्म मात्र कालोपत्रेका लागि सव बेस गरेको छ । तर कालोपत्रे गरिएको छैन । बाँकी सडकमा भने ग्राभेग बिछ्याएर बेसको काम मात्र गरिएको छ । ठेक्का सम्झौता ढिलो हुने र ठेकेदारले पनि समयमै काम सुरु नगर्ने परिपाटीले गर्दा विकासका अधिकाशं योजनाहरु अलपत्र पर्ने गरेको स्थानियको भनाई छ । शहीद मार्ग कालोपत्रेका लागि नगरपालिका र ठेकेदार कम्पनी बिच २ करोड ६९ लाख १९ हजार ९३५ रुपैयाँमा सम्झौता भएको हो । यसमा प्रदेश सरकार र ठाकुरबाबा नगरपालिकाको पचास–पचास प्रतिशत रकम लगानी रहेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।

असार मसान्तमा कालोपत्रे सक्ने गरि रोयल कन्ट्रक्सन धनगढीले ठेक्का सम्झौता गरेको थियो । काम समयमै सम्पन्न हुन नसक्नुमा मुलुकमा भएको लकडाउन नै मुख्य समस्या भएको ठेकेदार कम्पनीको भनाई छ । कामको सम्झैता हुने वित्तिकै मुलुकमा लकडाउन भएपछि समयमै काम सुरु गर्न नसक्दा सडक कालोपत्रे गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ । ‘सम्झौता हुना साथ मुलुकमा लकडाउन सुरु भयो । लकडाउन खुुकुलो हुने वित्तिकै काम थालियो । लगत्तै वर्षात सुरु भयो । जसले गर्दा तोकिएको म्यादमा कालोपत्रे सम्पन्न गर्न नसकिएको हो,’ ठेकेदार सागरजंग शाहीले भने । बर्खा सकिए लगत्तै कालोपत्रेको काम सुरु गरिने ठेकेदार शाहीले बताए ।

कामको टेण्डर भइ सके पछि पनि ठेकेदार ढिलो सम्पर्कमा आएको र ढिलो गरि काम सुरु गरेकाले तोकिएको समयमा कालोपत्रे हुन नसकेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त भएको बजेटबाट कालोपत्रेका लागि सडकमा बेसको काम पुरा भइसकेको र नगरको बजेटबाट बर्खा सकिए लगत्तै कालोपत्रेको काम सुरु गर्ने गरि ठेकेदार कम्पनीसँग सहमती गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । उनले भने, ‘सडक कालोपत्रे गर्नका लागि सडकमा बेसको काम सकिएको छ । यो सडक नगरको प्राथमिकतामा परेको सडक हो । त्यसैले अब बर्खा सकिए लगत्तै जसरी भएपनि यो सडक कालोपत्रे गर्ने सुरु हुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १ गते बिहीबार