कोहलपुर ।
बाँकेसहित देशभर आज र भोली बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदैंछ । कोरोना भाइरस (कोभिड–१९) कारण रोकिएको राष्ट्रिय कार्यक्रम अन्तरर्गत आज र भोली भिटामिन ‘ए’ को क्याम्सुल र जुकाको औषधी खुवाउन लागिएको हो । बाँकेका कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । ‘हामीले बालबालिकालाई भिटामिन ‘ए’ र जुवाको औषधी खुवाउने तयारी पूरा गरिसकेका छौं’ मिसन टुडेसँग कुरा गर्दै उनले भने, ‘आवश्यक सामग्रीहरु समेत सम्बन्धित पालिकाहरुमा पुगिसकेको छ ।’
जिल्लाका आठ वटै पालिकाहरुमा भिटामिन ‘ए’ को क्याम्सुल र जुकाको औषधी लगायतका अन्य साम्रगीहरु पुगिसकेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले बताए । ‘पालिकाहरुको स्वास्थ्य शाखाबाट सम्बन्धित स्थानसम्म भिटामिन ‘ए’ को क्याम्सुल र जुकाको औषधी पुगिसकेको जानकारीमा आएको छ’ उनले भने, ‘अहिले कोरोना कहरका बीच पनि तयार पूरा गरिसकेका छौं । समयमा नै स्वयंसेविका र स्वास्थ्यकर्मीहरु राष्ट्रिय अभियानलाई सफल बनाउन खटिनुहुनेछ ।’ बाँकेमा करिब एक लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने लक्ष्य स्वास्थ्य कार्यालय बाँकेले लिएको छ । कार्यालयका अनुसार ५३ हजार ९ सय ६७ जनालाई भिटामिन ‘ए’ र ४७ हजार ८ सय ८९ जनालाई जुकाको औषधी खुवाउने लक्ष्य लिइएको हो ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुवाको औषधी खुवाउनको लागि जिल्लाभर ८ सय ८९ जना महिला स्वास्थ्य स्वयंसेविका र ५ सय बढी स्वास्थ्यकर्मीहरु परिचालन हुनेछन् । भिटामिन ‘ए’ र जुकाको औषधी महिला स्वास्थ्य स्वयंसेविकाहरुले खुवाउँनेछन् भने उनीहरुको साथमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुनेछन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले सामाजिक दुरी कायम गरेर भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लागिएको बताए । ‘बैशाखमा खुवाउनुपर्ने औषधी कोरोना कहरका कारणले अहिले खुवाउन लागिएको हो’ उनले भने, ‘अहिले पनि कोरोनाको जोखिम नघटेकाले सुरक्षा उपाय अपनाएर औषधी खुवाउँदै छौं ।’
भिटामिन ‘ए’ को क्याम्सुल ६ महिनादेखि ५ वर्षमुनिका बालबालिका र जुकाको औषधी एक वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई खुवाइने स्वास्थ्य कार्यालय अधिकृत श्रेष्ठले जानकारी दिए । यसैबिच कोहलपुर नगरपालिकामा समेत भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रमको तयारी पूरा भइसकेको बताइएको छ । नगरकोहलपुर स्वास्थ्य शाखा अन्र्तगत रहेका सबै स्वास्थ्य चौकी र केन्द्रहरुमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ‘ए’ को क्याम्सुल र जुकाको औषधि खुवाउनेछन् । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ‘ए’ खुवाउँदै आइरहेको छ । जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिन्छ ।
रोटा खोपबारे अभिमुखिकरण
बाँकेको कोहलपुर नगरपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रोटा भाइरस बारेमा एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत स्वयंसेविकाहरुलाई भाइरस बारेमा जानकारी दिने उद्देश्यले अभिमुखिकरण गरिएको हो । सरकारी तथ्यांक अनुसार नेपालमा पछिल्लो समय बालबालिकाको मृत्युको कारण यही रोटा भाइरस बन्दै गएको छ ।
यो भाइरस भएमा बालबालिकामा झाडापखाला हुने र झाडापखाला गराउने मुख्य तत्व सक्रिय हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । विपत्ति, गर्मीको समय र सरसफाई नगरेमा विशेष गरि बालबालिकामा संक्रमणको जोखिम भएकोले स्वयंसेविकाहरुलाई जानकारी दिनको लागि अभिमुखिकरण गरिएको कोहलपुर स्वास्थ्य चौकीले जनाएको छ ।
स्वास्थ्य चौकीका प्रमुख प्रकाशजंग हमालका अनुसार चालु आर्थिक वर्षको नियमित कार्यक्रम अनुसार नै अभिमुखिकरण दिइएको हो । ‘यो बालबालिकाको मृत्युको कारण बन्न पुगेको छ । झाडापखालाका कारण ज्यान जान्छ । जनचेतना जोगाउनको लागि स्वयंसेविकाहरुलाई अभिमुखिकरण गराइएको हो’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्