बर्दिया ।
बर्दिया जिल्लामा पनि अब कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला बन्ने भएको छ । जिल्लामा रहेका विभिन्न क्वारेन्टिनमा बसेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न ढिलाई हुँदा संक्रमण समुदायसम्म फैलन सक्ने जोखिम बढ्दै गएपछि जिल्लामै पीसीआर परीक्षणको लागि प्रयोगशाला स्थापना गर्ने तयारी शुरु भएको हो । बर्दियामा रहेका ८ वटै स्थानिय सरकारको संयुक्त लगानीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको बताइएको छ । शुक्रबार जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला विपत् व्यवस्थापन समितिको संयुक्त बैठकमा असार महिना भित्रै कोरोना प्रयोगशाला स्थापना गर्ने गरि तयारी गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।
कोरोना प्रयोगशालाका स्थापनाको लागि गुलरिया नगरपालिकाले ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यसैगरि बाँकी सबै पालिकाहरुले २०÷२० लाख रुपैयाँ सहयोगको प्रतिवद्धता गर्न अनुरोध गरिएको प्रजिअ अधिकारीले बताए । ‘सबै स्थानिय सरकार, संघिय तथा प्रदेश सांसद र विभिन्न सहयोगी संघसंस्थाले समयमै सहयोग गरे असार महिना भित्रै प्रयोगशाला स्थापनाको पूर्वाधार तयार हुनेछ’ उनले भने । कोरोना प्रयोगशाला निमार्णका लागि संघिय र प्रदेश सरकारलाई समेत सहयोगका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको थियो । प्रयोगशाला निमार्णका लागि झण्डै ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । स्रोत व्यवस्थापनका लागि संसदको पूर्वाधार विकास कोषको रकमसमेत खर्च गर्न संसदहरु तयार भएको बताइएको छ । जिल्लामा कोरोना भाइरस परीक्षणका लागि पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न जनस्तरबाट माग भइरहेको थियो ।
जिल्लामा पीसीआर प्रयोगशाला स्थापना भए पीसीआरको परीक्षणको दायरा समेत बढ्ने र कोरोना संक्रमण नियन्त्रणका लागि सहज हुने विश्वास लिइएको छ । शुक्रबारको बैठकमा कोभिड–१९ पीसीआर प्रयोगशाला स्थापना र सञ्चालन गर्ने सम्बन्धमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभास पाण्डेले आधारपत्र प्रस्तुत गरेका थिए । आधारपत्रमा पीसीआर प्रयोगशाला सञ्चालन, व्यवस्थापन, लागत अनुमानसहित आवश्यक कुराहरुको प्रबन्ध गर्ने विषय समेटिएको थियो । जिल्लामै कोरोना प्रयोगशाला सञ्चालन हुने भएपछि कोरोना जाँचका लागि अन्यत्र नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ भने नतिजा पनि तत्काल आउने उनले बताए ।
अहिले जिल्लामा संकलन गरिएका स्वाबका नमूनाहरु पीसीआर परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको प्रयोगशालामा पठाउनुपर्छ । त्यहाँ धेरै स्वाबहरु हुँदा परीक्षणको पालो एक हप्तापछि मात्र आउने गरेको छ । सोही कारणले जिल्लामा नै कोरोना परीक्षणको लागि पीसीआर प्रयोगशाला निर्माण गर्न लागिएको हो । बर्दियामा ६ वटा नगरपालिका र २ वटा गाउँपालिकाका गरेर ८ वटा स्थानीय तहहरु रहेका छन् । अहिलेसम्म बर्दियाबाट करिब तीन हजार आठ सय बढी स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि अन्य जिल्लामा रहेका प्रयोगशालामा पठाइएको थियो ।









प्रतिक्रिया दिनुहोस्